पात्रो

रेडियो

समाचार खोजी

पर्यटन बोर्डले बंगलादेशका पर्यटकलाई भन्यो ‘नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस’

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार

काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा  राजधानी ढाकामा आयोजना गरिएको ‘नेपाल–बङ्गलादेश पर्यटन भेटघाट’  कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बंगलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गनुभएको हो ।
निमित्त निर्देशक खनालले नेपालका विविध पर्यटकीय उत्पादन र गतिविधिहरूको समग्र प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बञ्जी जम्पिङ जस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, वेलनेस टुरिजम तथा मेडिकल टुरिजम जस्ता नयाँ सम्भावनाहरूबारे विस्तृत जानकारी गराउनुभएको हो ।
‘छिमेकी नेपालः जीवनभरका अनुभवहरूको भूमि’ भन्ने मूल नाराका साथ  आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशी पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको बताउनुभयो । नेपालले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन अवसरहरू र आतिथ्य संस्कृतिको अद्भुत संयोजन प्रदान गर्ने बताउँदै राजदूत भण्डारीले पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीचको मित्रताको उत्कृष्ट प्रतिबिम्बको रूपमा रहेको बताउनुभयो । साथै, उहाँले दुई देशका पर्यटन व्यवसायीहरूबीच बीटुबी सम्बन्ध अझ प्रगाढ बनाउन आह्वान गरेका हुन् ।
बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्त सचिव एकेएम मोनिरुज्जामानले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त पर्यटन प्याकेज विकासको आवश्यकता औंल्याउनुभयो । नेपाल र बंगलादेशलाई परस्पर परिपूरक गन्तव्यको रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाबारे समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै राजदूतावासकी उपप्रमुख ललिता सिलवालले  नेपाल र बंगलादेशबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउने नेपालको प्रतिबद्धता यस्ता कार्यक्रमले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बंगलादेशी आरोही इक्मारुल हसन शाकिलले हालै १३७२ किलोमिटरको ‘सी टु समिट’ यात्रा सम्पन्न गरी २०२५ मे १९ मा सगरमाथा आरोहण गरेको प्रेरणादायी अनुभव सुनाउनुभएको थियो ।
बंगलादेश ट्राभल एजेन्ट संघका अध्यक्ष अब्दुस सलाम अरेफ तथा एशियन  टुरिजम फेयरका अध्यक्ष मोहिउद्दिन हेलालले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा नेपाली लोकसाँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै,  सहभागी पर्यटन व्यवसायीहरूको सहयोगमा राफल ड्र पनि गरिएको थियो, जसअन्तरगत हिमालय एयरलाइन्स र विमान बंगलादेश एयरलाइन्सको  प्रायोजनमा ढाका–काठमाडौं राउन्ड ट्रिप हवाई टिकट र नेपाली ट्राभल एजेन्सीहरूद्वारा प्रायोजित विशेष छुट प्याकेजहरू प्रदान गरिएको छ ।
कार्यक्रमपूर्व दुई देशका ट्राभल तथा टुर कम्पनीहरूबीच बीटुबी सत्र र नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो । नेपालबाट गएको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका अधिकारीहरू सहित १३ वटा पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

154 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता