काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बोर्डले हिमाली क्षेत्रको संरक्षण, दिगो विकास र पर्वतारोहण संस्कृतिको प्रवद्र्धनमा जोड दिनुभएको छ ।
७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा ‘वल्र्ड समिटर्स समिट–२०२५’ को अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सीईओ जोशीले भन्नुभयो, “हिमालप्रति जिम्मेवार भावना र साझा उत्तरदायित्वको भावना विकास गर्नु अहिलेको सबभन्दा ठूलो आवश्यकता हो ।”
उहाँका अनुसार हिमालय क्षेत्र हाल जलवायु परिवर्तन, अत्यधिक पर्यटन, वातावरणीय क्षति र पहाडी समुदायको सामाजिक–आर्थिक असुरक्षाजस्ता जटिल समस्याहरूको चपेटामा परेको छ । उहाँले थप्नुभयो, “यी चुनौतीहरूको समाधानका लागि हामी सबैले ढिलो नगरी साझा प्रयास गर्न जरुरी छ ।”
नेपालले हिमाली पहिचानलाई आत्मसात गर्दै ‘वल्र्ड समिटर्स समिट’ को आयोजना सुरु गरेको जोशीले बताउनुभयो । उहाँका अनुसार हरेक दुई वर्षमा हुने यस शिखर
सम्मेलनले अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्वतारोही, अनुसन्धानकर्ता, नीति निर्माता र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।
“यो सम्मेलन केवल शिखर आरोहणको उत्सव मात्र होइन, हिमालय क्षेत्रको साहसिक पर्यटन, सांस्कृतिक समृद्धि र पारिस्थितिकीय महत्वको संरक्षण र प्रवद्र्धनको अभियान हो,” उहाँले भन्नुभयो ।
सीईओ जोशीले हिमाली समुदायको महत्वबारे पनि जोड दिँदै भन्नुभयो “हिमालका असली संरक्षक त्यहाँका स्थानीय समुदाय हुन् । तिनको अनुभव, आवाज र भविष्यलाई केन्द्रमा राखेर मात्रै हिमालयको दीर्घकालीन संरक्षण सम्भव छ ।”
‘वल्र्ड समिटर्स समिट’ मार्फत नेपालले ‘जिम्मेवार पर्वतारोहण, साझा दायित्व र प्रकृति तथा समुदायप्रति सम्मान’ को परम्परा विकास गर्ने लक्ष्य लिएको स्पष्ट पार्दैै उहाँले भन्नुभयो – “हामी सबै हिमालहरूले जोडिएका छौं । आउनुहोस्, हिमालको
उज्ज्वल भविष्यका लागि एकसाथ अघि बढौँ ।”
नेपाल पर्यटन बोर्डको नेतृत्वमा आयोजित सम्मेलनले हिमालप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नयाँ चेतना सिर्जना गर्ने सिईओ जोशीको विश्वास छ ।
साझा अर्थ संवाददाता