दोलखाः तामाकोशी नदीमा ठूलो बाढी आएका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । शुक्रवार बेलुकीदेखि अत्याधिक वर्षा भएर नदीमा ठूलो बाढी आएपछि आयोजनाको उत्पादन बन्द भएको हो ।
आयोजनाको बाँध क्षेत्रमा २८५ घनमिटरसम्म पानी मापन भएको माथिल्लो तामाकोसी विद्युत उत्पादन गृह प्रमुख पूणर्गोपाल रञ्जितले जानकारी दिनुभयो । आयोजनाको सुरक्षाका लागि विद्युत गृह नै बन्द गर्नु पर्ने भएकाले राती साँढे १ बजेपछि उत्पादन बन्द गरेको उहाँको भनाई रहेको छ । २०० घन मिटर भन्दा बढी पानीको सतह पुगेपछि समान्यतः आयोजनामा पुग्न सक्ने सम्भाब्य क्षतिलाई आँकलन गरी विद्युत गृह बन्द गर्ने गरिन्छ ।
माथिल्लो क्षेत्रमा वर्षात् घट्दै गएका कारण नदीमा जलस्तर विहान ११ बजेसम्म २५० घनमिटरसम्म रहेको रञ्जितको भर्ना छ । । बाढी घट्दै गएमा आयोजनाको प्लान्ट सञ्चालन हुने छ । तामाकोसी नदीको सहायक नदी लप्ची खोला र जुम खोलाका कुनै ठाउँमा पहिरोले खोला थुनिएर ताल बनेर फुटेर बाढी आएको पनि हुन सक्ने अनुमान छ ।
लामाबगरदेखि लप्ची जाने सडक निर्माणका क्रममा निस्किएको ढुङ्गा, माटो खोलामा झरेको छ । त्यसले पनि नदी थुनिनेर खुल्ने क्रम हुँदै आएको छ । माथिबाट आएको बाढीले ल्याएका गेग्रानले पनि माथिल्लो तामाकोसीको बाँध भरिदै आएको छ । एक महिना अघि पनि बाँधभन्दा ३ किलोमिटर माथि पनि पहिरोले नदी ४ घण्टा थुनिएको थियो । त्यस्तै जुम खोलाभन्दा केही माथि तिब्बतीयन भुगोलमा रोङसी खोलामा पहिरोले ३ दिन नदी थुनिएर पनि ३ वर्ष अघि पनि बाढी आएको थियो ।
अविरल बर्षात्का कारण गौरीशंकर गाउँपालिका वडा नं. ९ रोल्वालिङ खोलामा बाढी आउँदा रोल्वालिङ पदमार्गमा रहेको डोङाङ भन्ने ठाउँको ३ होटल बगाउँदा एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६४ वर्षिय जाङमु शेर्पा रहेको गौरीशंकर गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष निमागेली शेर्पाले जानकारी दिनुभएको छ ।
बाढीका कारण शनिबार विहानदेखि १६ आयोजना नचल्दा १ हजार मेगावाट बिजुली उत्पादन बन्द भएको छ । ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, १० मेगावाटको सुनकोसी आयोजना बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मिडिल मोदी, ४० मेगावाटको अपर चमेलिया गरी निजी क्षेत्रबाट १ सय १४ मेगावाट बिजुली आर्पूिर्त बन्द भएको छ । बाढीका कारण बिजुली उत्पादन घटेपछि भारतमा हुने निर्यातसमेत घटेको छ । प्राधिकरणका अनुसार अहिले ३ सय मेगावाट हाराहारीमा मात्र बिजुली निर्यात भएको छ । यसअघि साढे ६ सय मेगावाट बिजुली भारतमा निर्यात भइरहेको थियो ।
साझा अर्थ संवाददाता