पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति निजी क्षेत्रको चिन्ता, कानुनी दायरामा ल्याउन आग्रह

साझा अर्थ संवाददाता १७ चैत २०८१, आइतवार

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुनेलगायतका क्षेत्रमा आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति निजी क्षेत्रका उद्योगी संगठनहरुले विरोध जनाएका छन् ।
राजावादी प्रदर्शनकारीहरूले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्दा प्रदर्शनकारीले तीनकुनेमा निजी घरहरू तोडफोड र आगजनी गरेका थिए । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किँदा सो क्षेत्रमा सडक किनारमा रहेका घरहरूको सीसा फुटाएका थिए् ।
राजावादी समर्थकहरुले तीनकुनेस्थित एक घरमा आगजनी गर्नुका साथै सो क्षेत्र वरपर दर्जनौ सवारी साधन र मोटरसाइकलमा तोडफोड आगजानी गरेका थिए ।  राजावादीहरूले कोटेश्वरको भाटभटेनीमा तोडफोड गर्नुका साथै लुटपाट पनि मच्चाएका थिए भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र आगजानी गरेका थिए । उक्त ठाउँमा आगजानी हुँदा पार्किङमा रहेको विमान र आयल निगमको डिपो जोखिममा परेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न माग राखी हुने गरेका आन्दोलन/प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार भएको आन्दोलन/प्रर्दशनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद भन्दै महासंघले आन्दोलन/प्रर्दशनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहीत परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपुर्ति हुनुपर्ने महासंघको माग छ ।
संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति महासंघले घोर निन्दा र भत्र्सना गरेको छ । साथै महासंघ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनराबृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
यस्तै शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघको ठहर छ ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनीय रहेको परिसंघले जनाएको छ ।
निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको छ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघले सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।
विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह गरेको छ ।
परिसंघ शुक्रबारको घटनामा परी निधन हुनुभएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता