पात्रो

रेडियो

समाचार खोजी

बचत तथा ऋण सहकारीलाई बैंकसरह कर लगाउने तयारी

साझा अर्थ संवाददाता १५ चैत २०८१, शुक्रवार

वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूलाई बैंक तथा वित्तीय संस्थासरहको कर लगाउन छलफल सुरु भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८२/८३ को राजस्व नीतिको तयारी गरिरहँदा बैंक तथा वित्तीय क्षेत्रको विकल्पका रूपमा वित्तीय कारोबार गरिरहेका सहकारीलाई पनि आयकर बढाउन छलफल अघि बढाएको हो । 

हाल बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ । यद्यपि, सहकारी संस्थालाई ५, ७ र १० प्रतिशत मात्रै कर तिरे पुग्ने आयकर ऐनमा व्यवस्था छ । आयकर ऐनले साधारण सहकारी संस्थालाई कर छुटको सुविधा दिए पनि वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई भने कर लगाउँदै आएको छ । नगरपालिका क्षेत्रभित्रका सहकारीलाई ५ प्रतिशत, उपमहानगरपालिकाभित्रका सहकारीलाई ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीलाई १० प्रतिशत कर लाग्ने व्यवस्था छ । वित्तीय कारोबारको आकार ठुलो भइसकेको सहकारी संस्थालाई न्यून दरमा आयकरको दर निर्धारण हुँदा सरकारले राजस्व गुमाउँदै गइरहेको आन्तरिक राजस्व विभागका अधिकारीहरूको विश्लेषण छ । 

तर, छलफलमा सहकारी संस्थाहरू धराशायी रहेको अवस्थामा करको दर बढाउन नहुने सहकारी सञ्चालकले सुझाव दिए । बचत तथा ऋण सहकारी संस्थाहरूको छाता संगठन नेफस्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा सर्वसाधारणको पैसा सुरक्षित गर्नुपर्ने समयमा यसलाई प्रोत्साहन गर्न छाडेर करको दर बढाउने विषय असान्दर्भिक हुने बताए ।  

बैंक तथा वित्तीय संस्थाको विकल्पका रूपमा वित्तीय कारोबार गर्दै आइरहेका सहकारी संस्थाको आयमा न्यून कर लगाउनु न्यायोचित नहुने सरोकारवाला बताउँछन् । हाल मदिरा, सुर्ती, चुरोटजस्ता नेगेटिभ लिस्टका उद्योगसरह ३० प्रतिशत आयकर लगाएकोमा घटाउनुपर्ने बैंकरहरूको माग छ । उनीहरूले बैंक तथा वित्तीय संस्थालाई अरू संस्थासरह २५ प्रतिशत आयकर लगाउनुपर्ने माग राख्दै आएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंक तथा वित्तीय संस्थालाई ३० प्रतिशत आयकर लगाएर भार परेको भन्दै यसलाई २५ प्रतिशतमा झार्नुपर्ने बताए । 

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता