कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्चयोग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने भनिएको छ । यद्यपि, केन्द्रीय बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरूले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा राष्ट्र बैंकको पूर्वस्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सक्ने उल्लेख छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भए–गरेका कार्यक्रमको लक्षित वर्गमा भएको वास्तविक खर्च तथा उक्त खर्च गर्दा भएको प्रशासनिक खर्चबिच तादात्म्य मिलेको, स्वाभाविक तथा खर्च अनुपात सुहाउँदो हुनुपर्ने उल्लेख छ । सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम, सोको खर्च, कार्यक्रमको छनोट, संस्थाले अवलम्बन गरेको निर्णय प्रक्रिया, कार्यक्रमको प्रभावकारिता आदि सम्बन्धमा वार्षिक रूपमा आन्तरिक लेखा परीक्षण गरी छुट्टै प्रतिवेदन तयार गरी लेखा परीक्षण समितिमार्पmत सञ्चालक समितिमा पेस गर्नुपर्ने उल्लेख छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम यस मार्गदर्शनले तोकेको अवधिभित्र खर्च गरिसक्नुपर्ने भनिएको छ । बैंक तथा वित्तीय संस्थाले सहयोग गरेका सम्बन्धित संस्थाले प्राप्त गरेको रकम वा सहयोगबाट जीवन रक्षा, सार्वजनिक हित वा परोपकारी कार्यमा प्रभाव परेको र सोही उद्देश्यमा खर्च भएको प्रमाणित विवरण इजाजतपत्रप्राप्त संस्थाले प्राप्त गरी अद्यावधिक गरी राख्नुपर्ने उल्लेख छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्चको क्षेत्रगत तथा प्रदेशगत विवरणका साथै उक्त खर्चको सामाजिक क्षेत्रमा परेको प्रभावसमेत विश्लेषण गरी आफ्नो वेबसाइटमार्फत वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने मार्गदर्शनमा भनिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषयमा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्रभित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढंगले खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
साझा अर्थ संवाददाता