पात्रो

रेडियो

समाचार खोजी

नबिल एसएसई फेलोसिपको पाँचौं ब्याजका लागि आवेदन खुला

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं ब्याजका लागि आवेदन खुला गरेको छ । यसमा उद्यमशीलतामा लाग्न इच्छुक व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ ।

यस कार्यक्रमको कोर्समा १८ दिनको नि:शुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यम सञ्चालनमा भइसकेका छन् । जसमार्फत १२ सय जनाले रोजगारी पाइरहेका छन् ।

कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् । पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुनेछन् ।

कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन दिन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुन नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ ।

यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु सहभागी हुन सक्नेछन् । बैंकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरु र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिइनेछ ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । यस कार्यक्रम अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म ११७ उद्यम स्थापना भइसकेको बैंकले जनाएको छ ।

फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता