पात्रो

रेडियो

समाचार खोजी

मुलुकको समग्र अर्थतन्त्रमा नेपाल टेलिकमको योगदान उल्लेखनीय रहेको छ

नेपालमा दूरसञ्चार सेवाको एक शताब्दी भन्दा लामो विरासत बोकेको छ कम्पनी

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

संगीता पहाडी (अर्याल)

स्थापना कालदेखि नै नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिको अवलम्बन, पूर्वाधारको विकास एवं सेवाको विस्तार गर्दै सरकारको दूरसञ्चार सम्बन्धी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखी मुलुकको विकास प्रक्रियामा । यस पुनितः अवसरमा सम्पूर्ण सेवाग्राही महानुभावहरु, शेयरधनी महानुभावहरु, शुभेच्छुकहरु लगायत कर्मचारी नेपाली समाजसंगको सहकार्यमा २१ वर्ष सफल रुपमा व्यतित गर्दै स्थापना कालको २२ औं वर्षमा पदार्पण गर्दैछ ।

मित्रहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । हाम्रो आमन्त्रणलाई स्वीकार गरी यस वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि माननीय मन्त्रीज्यू, आदरणीय अतिथिज्यूहरु, लगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक स्वागत अभिवादन गर्दछु ।

नेपालमा दूरसञ्चार सेवाको एक शताब्दी भन्दा लामो विरासत बोकेको यस कम्पनीले नेपाली समाजको विकास र समुन्नतिमा भुक्तान गरेको २ दशक अवधि उल्लेखनीय र सराहनीय रहेको यहाँहरु समक्ष छ । कम्पनीको यो सफलताले हामीलाई आगामी अवधिका लागि अझ उत्साहित र उत्प्रेरित गराउँदै लानेछ साथै कम्पनीको सफलतामा साथ दिने सेवाग्राही प्रति अझ जिम्मेवारी र जवाफदेही बनाउंदै लाने विश्वास लिएकी छु । साथै वार्षिक उत्सवको यस उल्लासमय वातावरणले हामीमा थप उर्जा प्रवाह गराई संस्थाको समुन्नति र सुदृढिकरणका लागि हौसला प्रदान गर्ने अपेक्षा गर्दछु ।

यस सुखद अवसरमा, हालसम्मको यात्रामा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग प्रदान गर्नुहुने, कम्पनीप्रति सद्भाव राखे, हौसला प्रदान गर्ने तथा शुभकामना व्यक्त गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकारका सम्बन्धित निकाय, नियामक संस्थाहरू, ग्राहकवर्ग, शेयरधनी महानुभावहरू, सेवा सञ्चालनमा योगदान दिने आपूर्तिकर्ता लगायत सम्पूर्ण सहयोगी निकाय तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, आगामी दिनहरूमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गर्दछु।

समसामयिक परिस्थिति प्रतिस्पर्धात्मक बजार र तीव्रदरमा परिवर्तित प्रविधि बजार कम्पनीको स्थायित्व र सवलीकरणमा चुनौति बन्न सक्दछन । कर्मचारी साथीहरुको लगनशीलता त्याग र समर्पण माननीय मन्त्रीज्यूको मार्गदर्शन र कर्मचारी युनियनहरुको सुझबुझपूर्ण र जिम्मेवार पूर्ण व्यवहार साथै व्यवस्थापकीय जवाफदेहिता साथै सेवाग्राहीरुको अटुट माया ममता र विश्वासले हामीलाई थप सुदृढ गराउंदै लाने एवं संभावित चुनौतिहरुलाई अवसरमा रुपान्तरण गर्न सकिने विश्वास लिएकी छु । कम्पनीको यात्रामा ग्राहकवर्गको अटुट विश्वास, कम्पनीका सम्पूर्ण कर्मचारीहरूको जिम्मेवारीबोध र उत्कृष्ट कार्यसम्पादन, सञ्चालक समिति तथा नियामक निकायहरूको मार्गदर्शनको परिणाम नै आज दूरसञ्चार सेवाको क्षेत्रमा भएको उपलब्धि हो ।

आर्थिक प्रगति र योगदानः

कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय रु ४२ अर्ब ११ करोड र खुद मुनाफा रु ६ अर्ब २३ करोड छ जुन अघिल्लो आव को तुलामा केही कमी रहेको छ । समग्र अर्थतन्त्रका सूचकाङ्क नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करीब रु २० अर्व १२ करोड आय आर्जन गरिसकेको छ जसले वित्तीय लक्ष्य हासिल गर्न सकिने संकेत गरको छ ।

मुलुकको समग्र अर्थतन्त्रमा कम्पनीको योगदान उल्लेखनीय छ। आ.व. ०७९।८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं श्रोतमा कट्टीकर वापत आफ्नो कूल आयको ६४.०३ प्रतिशत अर्थात् रु. २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएकोमा समीक्षा अवधि आ.व. ०८०।८१ मा कुल रु ४१ अर्व ५९ करोडको योगदान पुर्याएको थियो, भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले रु १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको छ ।

प्रचलित कानुनले निर्धारण गरेको समय सीमा भित्र कम्पनीको साधारण सभा सम्पन्न भई शेयर धनी महानुभावहरुलाई समयमा नै लाभांश समेत भुक्तानी गर्न पाउंदा हामीलाई गर्व लागेको छ । सेवाग्राही वीच सेवा छनौटको अवसरयुक्त पृष्ठभूमीमा पनि कम्पनीले समाजको विकासमा र राष्ट्रिय अर्थतन्त्रमा पुरयाएको योगदान स्वरुप विगत आ व ०७२।७३ देखि राष्ट्रिय स्तरमा सम्मानित समेत हुदै आइरहेको यथार्थ हामी सामु छ ।

सेवा विस्तार तथा ग्राहक आधारः

भ्वाइस सेवातर्फः २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार, पीएसटीएन सेवाका ग्राहक ८७ हजार, तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन् । २०८१ मंसिर महिनाको तथ्याङ्क अनुसार, भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।

इन्टरनेट तथा डाटा सेवातर्फः २०८१ मंसिर महिनाको अन्त्यसम्म कम्पनीका इन्टरनेट तथा डाटा सेवाका प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये, जीएसएम मोबाइल डाटा सेवाका प्रयोगकर्ता २ करोड ७ लाख, तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम 4G सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको छ र निरन्तर विस्तारको क्रममा रहेको छ।

4G/LTE आयोजना तर्फः नेपाल टेलिकमले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ र गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत पार्ने उद्देश्यले सेवा विस्तार र सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिँदै आएको छ। यसै सन्दर्भमा, वायरलेस ब्रॉडब्यान्ड अर्थात् 4G/LTE सेवा देशभर विस्तार गर्दै आएको छ। हालसम्म ७७ जिल्लाका ७४४ स्थानीय तहसम्म यसको पहुँच पुगेको छ, भने नेटवर्क विस्तारका लागि संचालनमा रहेका ४६९७ स्थान मध्ये ४३२४ स्थानमा फोर जी सेवा संचालनमा रहेको छ । आगामी दिनमा थप सेवा विस्तार गर्नको लागि ३३३ eNodeB को पूर्वाधार तयारीको कार्य अघि बढिसकेको छ, भने थप १२०० eNodeB सामान प्राप्ति गर्न वोलपत्रको तयारी अन्तिम चरणमा पुगेको छ। यसै आर्थिक वर्ष भित्रमा १८०० मेगाहेर्जको टु जी सेवा बन्द गर्ने योजना रहेको छ । प्राधिकरणबाट Import License लगायतका कार्यहरुको सहजीकरण भैसकेको अवस्थामा सेवा विस्तार कार्यले थप गति लिनेछ ।

4G नेटवर्क विस्तारसँगै 4G डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९०% भन्दा बढी हिस्सा 4G सेवाले ओगटेको छ। साथै, 4G VoLTE सेवा प्रयोग गर्ने ग्राहक संख्या ५८ लाखभन्दा बढी पुगेको छ। 5G सेवा संचालनको लागि उपयुक्त व्यवसायिक रणनीति सहितको अध्ययन सम्पन्न भई प्रतिवेदन पेश गर्ने कार्य अन्तिम चरणमा रहेको र भविष्यमा सरकारको निर्देशन बमोजिम 5G प्रविधि भित्र्याउने कम्पनीको योजना छ।

FTTH आयोजना तथा सेवा विस्तारः फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै फाइवरमार्फत उपलब्ध गराउने उद्देश्यले Fiber to The Home (FTTH) सेवा विस्तारको योजनालाई चालु आर्थिक वर्षमा तीव्रता दिइएको छ। हालसम्म यो FTTH सेवा ७७ जिल्लामा पुगिसकेको छ। Copper Based Network लाई FTTH प्रविधिमा रुपान्तरण गर्ने कार्य अन्तिम चरण मा रहेको र कर्णाली प्रदेशलाई आजैका मितिवाट कपर नेटवर्क फ्रि प्रदेशका रुपमा घोषणा गरिदैछ । चालु आर्थिक वर्षको पौष मसान्तसम्मको अवधिमा, देशका ४६३ स्थानमा करिब २१ लाख वितरण क्षमताको नेटवर्क तयार भएको छ। सेवा वितरणका हिसाबले, हालसम्म ३ लाख ८० हजार भ्वाइस, ३ लाख ३० हजार डाटा, र ५८ हजार IPTV ग्राहकलाई FTTH नेटवर्कमा आबद्ध गरिसकिएको छ। १९८ नं मा फोन गरी FTTH सेवा प्राप्तिको लागि अनुरोध आए पश्चात कम्पनीका प्राविधिकहरु सेवाग्राहीको घरमा पुगी तत्काल सेवा जडान गर्ने व्यवस्था मिलाइएको छ।

मुलुकभरका ७५३ स्थानीय तह र सम्भव भए सम्म सम्पूर्ण ६७४३ वडाहरुमा र 4G प्रविधिमार्फत Broadband Internet Connectivity पुर्याउनको लागि कम्पनि अग्रसर छ । कम्पनीले प्रदान गरेका विभिन्न वायरलेस र वायरलाइन सेवाहरुको गुणस्तर सुनिस्चित गर्न नियामक निकायद्वारा तोकिएका सम्पूर्ण प्रमुख कार्यसम्पादन सूचकांक (KPI) हरु कायम गरेको छ।

RTDF परियोजना सम्बन्धमाः ग्रामीण विकास दूरसञ्चार कोष अन्तर्गत मध्य पहाडी लोकमार्गलाई आधार मानी सोका आसपासका जिल्ला, गांउपालिका र वडाहरुलाई इन्टरनेटको सञ्जालमा आवद्ध गराउने कार्यक्रम अनुरुप कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश मा गरी १४५० कि.मि विछ्याउने कार्य सम्पन्न भएको छ ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत १७४८ कि.मी अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेकोमा हालसम्म कुल ९९३ कि.मि. अर्थात् ५६.८ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

यस पूर्वाधारले सूचना महामार्ग निर्माणको परिकल्पनालाई पूरा गरी नेपाल सरकारको अवधारणा अनुरुपको Digital Nepal framework निर्माणका लागि आवश्यक आधारस्तम्भ तयार हुने विश्वास लिएको छु। ग्रामिण दूर संचार विकास कोष मार्फत जडान भएका optical Fiber Network हरुको सहप्रयोगको थालनी गरि सकिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व तर्फः कम्पनीले समाज प्रतिको जिम्मेवारी र सामजिक दायित्व निर्वाह गर्न समेत प्रयासरत रहेको छ । यसै सन्दर्भमा शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिवी निवारण, उद्यमशीलता र खेलकुदका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन गरी समाजसंगको सामिप्यता बढाउन प्रयास गरिरहेको छ । यस वर्षका लागि कम्पनीले २०८१ सालको SEE परीक्षामा सहभागी विकट क्षेत्रका सरकारी र सामुदायिक विद्यालयका २ लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशुल्क शिक्षा सेवा उपलब्ध गराउन सहयोग गरेको छ । यसका साथै, ३ अन्तर्राष्ट्रिय विमानस्थल र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क Wi-Fi सेवा उपलब्ध गराउने योजना रहेको छ। सात प्रदेशका दुर्गम क्षेत्रका ६,००० विद्यार्थीलाई विद्यालयका युनिफर्म र स्कूल व्याग वितरण गर्ने कार्य पनि अघि बढाइँदैछ। बाग्लुङ्ग कालिका भगवती मन्दिरमा शारीरिक अशक्त र वृद्ध दर्शनार्थीलाई shuttle बस सेवा प्रदान गर्ने योजना रहेको छ। २० वृद्धाश्रम/अनाथाश्रमलाई आवश्यक सामाग्री उपलब्ध गराउने काम पनि भइरहेको छ। १०० सरकारी र सामुदायिक विद्यालयलाई १ वर्षसम्म निःशुल्क NT Fiber with Telephone Package उपलब्ध गराउने लक्ष्य राखिएको छ। सामुदायिक पुस्तकालयहरूमा ई-लाइब्रेरी सेवा उपलब्ध गराउने पहल समेत भइरहेको छ। दृष्टिविहिन र वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी र थर्मस जस्ता उपयोगी सामग्री उपलब्ध गराउने कार्य पनि योजना अनुसार भइरहेको छ। बाढी, पहिरो र भूकम्प प्रभावित क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग पुर्याउने तथा विशेष महत्त्वका पार्कहरूको सौन्दर्य र हरियाली वृद्धिमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कर्मचारी वृत्तिविकास तथा सुविधाका तर्फः

कम्पनीद्वारा कर्मचारी वर्गका सरोकारका विषयलाई उच्च प्राथमिकतामा राख्दै : कम्पनीको सेवामा २०६४ चैत्र मसान्त अगाडि स्थायी सेवामा प्रवेश गरी उमेरहदले अनिवार्य अवकाशमा जाँदा निवृतिभरण नपाउने कर्मचारीलाई बढीमा २ वर्ष सेवा अवधि थप गरी निवृत्तिभरण उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

कर्मचारीको उत्पादकत्व मापन गर्न सकिने गरी कार्य विवरण तयार गरी परिणाम प्रति जवाफदेहीता श्रृजना गराउन मापनयोग्य सूचक सहित नतिजामूलक तथा बस्तुगत रुपमा मूल्यांङ्कन योग्य प्रणालीका रुपमा "कर्मचारीहरुको कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली सम्बन्धी मापदण्ड-२०८१" लागू गरी सोही बमोजिम आर्थिक वर्ष २०७९/८० को प्रोत्साहन भत्ता वितरण गरिएको छ ।

सावधिक जीवन बीमाको बीमाङ्क थप गर्ने सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भैसकेको छ ।

कर्मचारीको हित र वृत्तिविकास सम्वन्धि प्रासंगिक विषयलाई विनियमावली संशोधन मार्फत सम्बोधन गर्ने गरि काम अगाडी बढाइएको छ ।

सेवाग्राहीको सम्बन्धमाः हाम्रा कार्यशैली र संस्कारलाई उपभोक्ता मैत्री गराई बनाई हाम्रो उपस्थिति हाम्रा ग्राहकको लागी भन्ने कुरा व्यवहारमा तत्काल रुपान्तरण गर्न अभिप्रेरित गर्ने वातावरण श्रृजना गरिनेछ ।

सेवाग्राहीहरुबाट अभिव्यक्त सुझावहरुलाई सकारात्मक रुपमा ग्रहण गरी सेवाको स्तरोन्नतिका लागी आवश्यक पूर्वाधार निर्माण एवं क्षमता बिस्तार गर्दै हाम्रा कार्यशैली पूर्ण प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बनाउन प्राथमिकता दिइनेछ ।

उल्लेखित प्राथमिकताले कम्पनीमा ग्राहकमुखी जनशक्तिको विकास, कम्पनीको साखमा वृद्धि, ग्राहकआधारमा विस्तार, आर्थिक अवस्थाको सुदृढीकरण हुने अपेक्षा राखिएको छ ।

२१ औं वार्षिकोत्सवको उपलक्ष्यमा, कम्पनीले Anniversary Package स्वरुप निम्न Package हरु उपलव्ध गराएको छ :

माघ २२ देखि फागुन ८ सम्म १५ दिन सम्मको लागिः

1Mbps Unlimited Data + 120 Min Voice NT-NT समयावधि १ दिन, रु ५९

Unlimited all net Voice call समयावधि १ महिना, रु ४९९ ।-

Unlimited Data Pack समयावधि १ महिना, रु ५९९ । -

Unlimited Premium Data pack समयावधि १ महिना, रु ७९९ ।-
Festive Combo Pack समयावधि १ महिना, रु ७९९ ।-

माघ २२ देखि फागुन २१ गते सम्म लागु हुने गरीः

नयाँ तथा पुराना ग्राहकले FTTH ५०/७५/१००/१५० तथा २०० Mbps को वार्षिक Package खरिद गर्दा १ महिनाको थप सेवा उपलव्ध गराईने छ ।

A साथै दुई वर्ष समयावधिको FTTH Package खरिदमा पन्ध्र प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Tik-Tok Package

Daily Tiktok Package -20GB@5Mbps, Throttle 1 Mbps रु ४८।-

Weekly Tiktok Package- Daily 20 GB @ 5Mbps/, Throttle २ Mbps- रु १७०।-

अहिलेसम्म ग्राहकहरूले eSIM लिनको को लागि काउन्टरमा जानु पर्ने बाध्यता थियो। नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा, अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइट मार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।

VoWiFi सेवाको व्यवसायिक सुरुवातः माननीय संचार तथा सूचना प्रविधि मन्त्रि ज्यु बाट समुद्घाटन गरी आजकै दिन देखि vowifi सेवा व्यावसायिक रुपमा संचालनमा ल्याइने छ । यस प्रविधि मार्फत VoWiFi Support गर्ने र VOLTE सेवा Activate भएको जुनसुकै Mobile Phone वाट देश भित्र तथा देश वाहिर वाट WiFi netwok मार्फत नेपाल टेलिकमकै Mobile Number वाट voice तथा SMS सेवा प्रयोग गर्न सकिनेछ । हाललाई नेपाल भित्रवाट यो सेवा प्रयोग गर्दा साविक Packages को Voice/SMS Resources तथा Pay As You Go वरावर सेवा शुल्क लाग्नेछ भने नेपाल वाहिर वाट सेवा प्रयोग गर्दा Incoming call निशुल्क तथा Outgoing Call को रु ३ प्रति/मिनेट शुल्क लाग्नेछ ।

GSM International Roaming अन्तर्गत हाल संचालनमा रहेका Pay As You Go डाटा रोमिङ्ग सेवाका साथ साथै ४८ वटा मुलुकमा ३ दिन समयावधि सहितको International Roaming Data Package को शुरुवात गरिएको छ । यी रोमिङ्ग डाटा प्याकेज USSD कोड, NT APP र कम्पनीको Web Site बाट खरिद गर्न सकिन्छ । साथै यी प्याकेज आफ्नो आवश्यकता र चाहना अनुरुप कम्पनीका GSM ग्राहकहरुलाई Gift दिन मिल्ने सुविधा समेत उपलब्ध गराइएको छ ।

कम्पनीको Network Monitoring तथा मर्मत सेवा (IN) र Backbone Optical Fiber Maintenance २४ घण्टा नै संचालन गरिने व्यवस्था गरिएको छ। साथै Fiber Maintenance सेवा विहान ७ देखि राति ११ बजेसम्म गरिने व्यवस्था गरिएको छ ।

सम्मान तथा पुरस्कारः

सातै प्रादेशिक निर्देशनालय, उप-प्रादेशिक निर्देशनालय नेपालगञ्ज र वायरलेस सेवा निर्देशनालयबाट सबैभन्दा बढी रकमको कारोबार गर्ने रिचार्जकार्डका ९ डिलरहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिने छ ।

१९८ मा मर्मतका लागि कम्प्लेन रजिस्टर भई सोही दिन अत्यधिक लाइन मर्मत गर्ने सातै प्रदेशका १/१ दूरसञ्चार कार्यालयलाई सम्मान गरिने छ ।

सबैभन्दा बढी बील भुक्तानी गर्ने प्रिपेड, पोष्टपेड र सेवाका १/१ ग्राहक र सेवाका २ ग्राहकलाई सम्मान गरिने छ ।

सबै भन्दा बढी ग्राहक संख्याका आधारमा प्याकेज खरिद गर्ने २ ग्राहकलाई सम्मान गरिने छ ।

वार्षिक उत्सवको अवसरमा कर्मचारीहरुमा रहेको प्रतिभाहरुलाई पहिचानको अवसर प्रदान गरी निजहरुमा थप उर्जा श्रृजना गर्न कर्मचारीहरुको सहभागितामा विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको छ । अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने सम्पूर्ण संयोजक ज्यु हरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै पुरस्कृत हुनुभएका सम्पूर्ण बिजेताहरुलाई पुनः बधाई दिन चाहन्छु ।

दुर्गम एवं अति विकट भौगोलिक क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनको लागि र ग्राहकका समस्याहरु समाधान गर्नको लागि कर्मचारी साथीहरुले संस्थाको मेरुदण्ड बनि संस्थाको लक्ष्य प्राप्तिको लागि देखाउनु भएको समर्पण, मेहेनत, लगनसिलता, इमान्दारिता र योगदानको लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु । प्रतिष्पर्धी बातावरणमा ग्राहकहरुको अपेक्षा पुरा गर्न, नवीन सोच र प्रविधिको सदुपयोग गर्दै हरेक चुनौतीलाइ अवसरको रुपमा ग्रहण गर्दै उत्प्रेरित रहन मा सम्पूर्ण कर्मचारीहरुलाई अनुरोध गर्दछु ।

नेपाल टेलिकमको प्रगति र कर्मचारीहरूको हितमा ट्रेड युनियनहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। संस्थाको दिगो विकास सुनिश्चित गर्न ट्रेड युनियन र व्यवस्थापनबीचको सहकार्य अपरिहार्य छ। निरन्तर संस्थाको विकास र कर्मचारी हितमा योगदान गर्दै आएको ट्रेड युनियनको सहकार्य र समर्थनप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा,

यस कार्यक्रमलाई सफल पार्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण आयोजक कमिटीलाई हार्दिक धन्यबाद साथै आफ्नो अत्यन्त व्यस्तताका बाबजुद हाम्रो आमन्त्रणलाई स्वीकार गरी यस कार्यक्रमको गरिमा बढाई दिनु भएकोमा प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू लगायत सम्पूर्ण अतिथि महानुभावहरुमा पुनः स्वागत एवं हार्दिक आभार व्यक्त गर्दछु । अत्याधुनिक दूरसञ्चार प्रविधिको विकास तथा विस्तार गर्दै सम्पूर्ण ग्राहकहरूमा दूरसञ्चार सेवा प्रदान गर्ने जिम्मेवारी पूरा गर्नका साथै सूचना प्रविधिका माध्यमबाट सरकारका नीति तथा कार्यक्रमलाई जनता समक्ष पुत्र्याउनका लागि कम्पनी लागिपरेको सर्वविदितै छ । यसै सन्दर्भमा मेरो कार्यकालमा सेवा विस्तार, गुणस्तर सुधार र ग्राहक सन्तुष्टि अभिवृद्धि लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएर सबैको साथ र सहयोगबाट कम्पनीलाई आर्थिक समृद्धिको मार्गमा डोहोच्याउन मेरो पहल हुनेछ । पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर समस्त कर्मचारीहरुको सिर्जनात्मक अग्रसरता सहितको कार्यसम्पादनको माध्यमबाट संस्थालाई समृद्धिको थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु ।

(नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले राजधानीमा मङ्गलबार आयोजित टेलिकमको २१औं वार्षिकोत्सव समारोहमा व्यक्त विचार ।)

357 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ