काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्षका लागि १२ जनाको आवेदन परेको हो ।
प्राधिकरणको अध्यक्षका लागि प्राधिकरणकै पूर्वअध्यक्षदेखि कार्यकारी निर्देशकसम्मले आवेदन दिएका छन् । त्यस्तै नेपाल सरकारका केही पूर्वसचिवहरुले पनि आवेदन दिएका छन् ।
प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेहरुमा कमल प्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णु बाबु मिश्र, बुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोद काजी श्रेष्ठ गरी १२ जना छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्राधिकरण अध्यक्षका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउन भनिएको थियो ।
समितिले आवेदकमध्येबाट सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाइ अन्तरवार्ता लिएर तीन जनाको नाम सिफारिस गर्ने जनाएको छ । समितिको सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।
यसअघि प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मङ्सिर अन्तिम साता निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो । यद्यपी सिलवालको कार्यकाल माघ १९ मा सकिंदै थियो ।
सिलवाल निलम्बनमा परेपछि अर्थमन्त्रालयले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ ।
साझा अर्थ संवाददाता