पात्रो

रेडियो

समाचार खोजी

गत आर्थिक वर्षमा बैङ्कले दुई अर्ब ५५ करोड खुद नाफा आर्जन गर्न सफल भएका छौं

कर्जा प्रवाहमा विस्तार हुन सकेको छैन

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

–देवेन्द्र रमण खनाल
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड ५९ वर्ष पुरा गरि ६० औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ५९ वर्ष अघि आजकै दिन वि.सं. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वामित्वमा स्थापित यस बैङ्कले विभिन्न आरोह अवरोहहरू पार गर्दै नेपाली जनजनमा बैङ्किङ सेवा पु-याउन एवं वित्तीय पहुँचका साथै वित्तीय शिक्षा बृद्धि गर्ने कार्य अग्र भागमा रहेर गरिरहेको छ । यस बैङ्कको स्थापना नै राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउने, आम सर्वसाधारणको वित्तीय पहुँचमा बृद्धि गर्ने तथा उद्योग एवम वाणिज्य क्षेत्रको विकासमा टेवा पु-याउन उद्देश्यले भएको थियो ।
कुनै समय अस्तित्वमा नै संकट आएको अवस्थाबाट माथि उठेर नविन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड आजको प्रतिस्पर्धी बजारमा पनि आफूलाई अब्बल सावित गर्न सफल भएको छ । खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालना, सूचना प्रविधिको प्रयोग, डिजिटल बैङ्किङ सेवा लगायतका क्षेत्रको सुधारमा बैङ्कले निरन्तर कार्य गर्दै आइरहेको छ ।
यो आर्थिक वर्ष भित्र कुल शाखा संख्या ३३० पु-याउने लक्ष्य अनुरूप हाल बैङ्कले देशैभर २९४ वटा शाखाहरूबाट सेवा प्रवाह गरिरहेको छ । यसै अनुरूप तत्काल थप नौ वटा शाखाहरू सञ्चालनमा ल्याउँदै छ । त्यसै गरि थप ११ वटा शाखाहरू यही चैत्र भित्र सञ्चालनमा आउन सक्ने गरि तयारी गरिएको छ भने बाँकी शाखाहरू समयमा नै खोल्ने गरि काम भइरहेको छ ।
हालसम्म बैङ्कले ७१ विस्तारित काउण्टर, ३१२ ए.टी.एम., २१२६ क्रेडिट कार्ड, १,९७४ एटीएम मेशिन, ७७,७६२ क्युआरमर्चेन्ट र ९९ शाखा रहित बैङ्किङ सञ्जाल मार्फत देशका सात वटै प्रदेश र ७७ वटै जिल्लामा उपस्थित भई देशैभरका ४६ लाख भन्दा बढी ग्राहकहरूलाई बैङ्किङ सेवा पु-याउँदै आइरहेको छ ।
यस बैङ्कले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरी २०८१ पुस २९ गते १९ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छ । २०८१ पुस मसान्तमा बैङ्कको कुल निक्षेप चार खर्ब ५० अर्ब रुपियाँ, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब रुपियाँ, चुक्ता पुँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ति पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब रुपियाँ पुगेको छ ।
बैङ्कको नाफाको कुरा गर्दा आर्थिक वर्ष २०८०/८१ को आषाढ मसान्तमा दुई अर्ब ५५ करोड रहेको थियो भने यस आर्थिक वर्षको पुस मसान्तमा ७६ करोड रहेको छ । २०८१ पुस मसान्तमा बैङ्कको निष्कृय कर्जा ४.९६ प्रतिशत, कोषको लागत ३.८१ प्रतिशत तथा औषत आधारदर ५.४४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट निरन्तर बढ्दै गएको निक्षेप भित्र हाम्रो ब्याज बहन गर्ने निक्षेपमा भएको बढोत्तरी साथै नियामकीय निर्देशन बमोजिम न्यूनतम विन्दुमा राख्नुपर्ने निक्षेपको ब्याजदरका कारण थप व्ययभार बढ्न गएको छ ।
अर्थतन्त्रमा आएको शिथिलता, उद्योगी व्यवसायीमा बढ्न नसकेको मनोबलका कारण कर्जा प्रवाहमा विस्तार हुन सकेको छैन । नेपालको बैङ्क तथा वित्तीय क्षेत्रमा निरन्तर रूपमा बढी रहेको निष्कृय कर्जाको आकारबाट हामी सबै चिन्तित भएका छौँ ।
बैङ्किङ क्षेत्रको विकासका लागि वित्तीय सहजताका साथ साथै वित्तीय अनुशासनको पनि आवश्यकता पर्दछ । हाम्रो बैङ्क तथा वित्तीय क्षेत्रको आकार देशको कुल गार्हस्थ्य उत्पादनको हाराहारीमा रहेको छ । निजी क्षेत्रले उपयोग गरेको कर्जाको आयतन लगभग कुल गार्हस्थ्य उत्पादनसँग बराबर भएकाले बाह्य क्षेत्रले यसको प्रतिफल के हो ? भनी प्रश्न गर्ने गर्दछन् । यसर्थ हाम्रा लगानीहरूलाई पनि भविष्यमा देशको विकास र आर्थिक उन्नतिमा परिलक्षित गर्नुपर्ने हामी सबैको दायित्व हो ।
गत आर्थिक वर्षमा बैङ्क दुई अर्ब ५५ करोड खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्ष बैङ्कले खुद नाफा आर्जन गर्न सके तापनि विगत समयदेखिको निवृत्त कर्मचारीहरूका लागि भविष्यमा भुक्तान गर्नु पर्ने पेन्सन व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम एक बाट तीन प्रतिशत तथा तलबको बृद्धिदर पाँच प्रतिशतबाट छ प्रतिशत बनाउने सुझाव बमोजिम तीन अर्ब चार करोड पैंसठ्ठी लाख अन्ठाउन्न हजार ५४९ थप हुन गएकाले वितरणयोग्य नाफा ऋणात्मक हुन गई गत आर्थिक वर्षमा लाभांश वितरण गर्न नसकिएको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कमा हाल स्थायी र करार गरि २७१६ जना कर्मचारीहरु छन् । हाल प्रत्येक वर्ष बैङ्कले आवश्यकता अनुसार विज्ञापनका माध्यमबाट खुला प्रतिस्पर्धा गराई नयाँ ऊर्जाशील जनशक्तिहरू पदपूर्ति गरी रोजगारीको अवसर सृजना गर्ने गरिएको छ ।
बैङ्क एक व्यावसायिक एवं प्रतिस्पर्धी संस्था भएकाले ग्राहक सेवाको छिटो छरितो सम्पादनबाट सन्तुष्टि दिनु नै हाम्रो मुख्य लक्ष्य हो । यसका लागि यहाँहरूको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यस बैङ्क भित्र क्रियाशील ट्रेड युनियनहरूको भूमिकामा जिम्मेवार संगठनका रूपमा रहेकाले व्यावसायिक औद्योगिक सम्बन्ध सधैँ सुमधुर रही रहेको कुरा जानकारी गराउँदै यस्तो असल व्यावसायिक सम्बन्ध भविष्यमा पनि रही रहनेछ ।
माथि उल्लेख गरिएका मुख्य मुख्य सूचकाङ्कहरुका अलावा बैङ्कले हासिल गरेका केही मुख्य उपलब्धिहरूका छन् । ती उपलब्धिहरू यस्ता रहेका छन् ः
१. सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरूमा लगानी बढाउनु हाम्रो दायित्व हो । यसै आर्थिक वर्षबाट हामीले साना किसान कर्जा, वैदेशिक रोजगारी कर्जा जस्ता नयाँ कर्जाहरू मार्फत समस्त देशवासीमा आफ्नो सेवा विस्तार गर्ने र उत्पादन एवम स्वरोजगारलाई जोड दिई आय आर्जन बृद्धि गर्ने कार्यक्रमहरू ल्याएका छौँ ।
साथै विगतदेखि सञ्चालन गर्दै आएका एक प्रदेश एक विशेष कार्यक्रम अन्तरगत कोशी प्रदेशमा अलैंची, मधेस प्रदेशमा माछा, बागमती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफूल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडीबुटी तथा सुदूरपश्चिम प्रदेशमा केरा खेतीमा विशेष लगानी गर्ने कार्यक्रम अगाडि बढाएका छौँ । जसले युवा, महिला एवम् उद्यम गर्न चाहने उद्यमीहरूको उत्साह बढाउने र रोजगारी तथा स्वरोजगारीका अवसर बढाउने विश्वास लिएका छौँ ।
२. ग्रामीण जीवनमा सुधार एसएमई कर्जाको विस्तार कार्यक्रम अन्तरगत आरबीबी एसएमई कर्जा, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई लक्षित गरेर वैदेशिक रोजगारी कर्जा तथा आवासीय एवं व्यावसायिक घर निर्माणका लागि मेरो घर कर्जा कर्जा प्रवाह गर्न शुरु गरिएको छ । साथै नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागद्वारा प्रदान गरिने २५ लाख रुपियाँसम्मको स्टार्ट अप कर्जा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा प्रदान गरिएको छ ।
३. धितोपत्र खरिद, बिक्री तथा दलाली सम्बन्धी कार्य गर्न बैङ्कको सहायक कम्पनीका रूपमा स्थापना भएको आरबीबी सेक्युरिटीज कम्पनी लिमिटेडलाई सञ्चालनमा ल्याइएको छ जसको कार्य सन्तोषजनक रूपमा अगाडि बढिरहेको छ ।
४. बैङ्कले प्रविधिमा आधारित बैङ्किङ सेवालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सर्भिसलाई प्राथमिकताका साथ अगाडि बढाई रहेको छ । सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी कारोबारहरू गर्दा समेत शुल्कहरू तिर्नु पर्ने हुँदा त्यस्ता शुल्कहरू हटाई हामीलाई परेको मर्काको उचित समाधान गरिदिनुहुन सम्बद्ध सबै सँग अनुरोध गर्दछु ।
५. एकै ठाउँबाट सबै विभाग/प्रदेश कार्यालय/शाखा कार्यालयको प्रभावकारी अनुगमन गर्न केन्द्रीय नियन्त्रण कक्षको स्थापना गरिएको छ ।
६. बैङ्कले प्राकृतिक प्रकोप, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा खेलकुद जस्ता क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने गरेको छ ।
७. बैङ्कले सुनको खरिद बिक्री कारोबारको सुरुवात गरेको छ ।
८. बैङ्क व्यवस्थापन र क्रियाशील ट्रेड युनियनहरूबीच सहमति भएका विषयहरूमध्ये कर्मचारी कल्याण कोष कार्यविधि सञ्चालक समितिबाट स्वीकृत भई लागु गरिएको छ ।


बैङ्कका भावी योजनाहरुः
१. पुँजी पर्याप्तताको कमीका कारण प्रचुर तरलताका बाबजुद पनि कर्जा प्रवाह गरी व्यवसाय विस्तार गर्न बैङ्कलाई सकस परिरहेको छ । तसर्थ बैङ्कको स्थिर सम्पत्ति पुनःमूल्याङ्कन पश्चात लेखाङ्कन गरी लेखापरीक्षण सम्पन्न भइसकेको हालको अवस्थामा पुनःमूल्याङ्कित सम्पत्तिको पनि प्रचलित अन्तराष्ट्रिय अभ्यासका आधारमा पुँजी कोष गणना गर्न पुरक पुँजी कोषका रूपमा समावेश गर्न दिँदा बैङ्कको व्यवसाय गर्ने क्षमता बढ्न सक्ने र यसबाट तरलताको सही उपयोग गर्न सकिनेछ । हाल बैङ्कको चुक्ता पुँजी कम भएको हुनाले सोको बृद्धिका लागि अर्थ मन्त्रालयमा पेश भइसकेको छ भने हाललाई बैङ्कको पुँजीको आधार सुदृढ बनाउन २.५ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागिएको छ ।
२. बैंकको रणनीतिक योजना २०२०/२०२५ को समीक्षा गरी रणनीतिक योजना २०२५/२०३० तर्जुमा गर्ने कार्य अगाडि बढाइएको छ ।
३. बैङ्कको आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा अनुपालनलाई थप प्रभावकारी बनाउनेछौँ ।
४.वैदेशिक विप्रेषण आप्रवाहका लागि छुट्टै कम्पनी खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने एवं हाल रहेको आरबीबी रेमिटलाई थप सबलीकरण गरिनेछ ।
५. उत्पादनमा जोडिन कृषि र यससँगको मूल्य श्रृङखलामा थप कर्जा विस्तारमा जोड दिनेछौँ ।
६. ऊर्जा उत्पादन र प्रसारणसँग सम्बन्धित क्षेत्रमा लगानी विस्तार गर्नेछौँ ।
७. प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, कृषि र विपन्न वर्गमा कर्जा विस्तार गरी समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न प्रतिबद्ध छौँ ।
विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका संकेतहरू देखिन थालेका छन् । वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैङ्किङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले कहीँ राहत महसुस गरेको छ ।
राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी स्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपूर्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक वित्त एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट वाञ्छित सीमा भित्र रहेको मुद्रास्फीतिले पनि अर्थतन्त्रको सुधारलाई सहयोग गरेको छ ।
अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडि बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशाको सञ्चार गराएका छन् । अर्थतन्त्रमा आएको सुधारले हाल बैङ्कहरुले व्यहोर्नु परेको अधिक तरलता एवं घट्दो कर्जा निक्षेप अनुपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ ।
(राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत खनालको मन्तव्यमा आधारीत छ ।)

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ