पात्रो

रेडियो

समाचार खोजी

लाभांश घोषणा गर्ने ११ वटा बैङ्कहरुमध्ये हामी चौंथो बढी लाभांश वितरण गर्ने बैङ्क बनेका छौं

हाल बैङ्किङ क्षेत्रको समग्र निष्किृय कर्जाको तुलनामा स्वीकार योग्य नै रहेको छ

साझा अर्थ संवाददाता ८ माघ २०८१, मङ्गलवार

गोविन्द गुरुङ
आज भन्दा ५७ वर्ष अगाडि देशको कृषि तथा ग्रामिण क्षेत्रको विकासको लागि आवश्यक पर्ने वित्तीय एवम प्राविधिक सेवा उपलब्ध गराउँदै कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने मूल उद्देश्यका साथ कृषि विकास बैङ्क ऐन २०२४ अनुसार वि.सं. २०२४ साल माघ ७ गते आइतबारका दिन कृषि विकास बैङ्कको स्थापना भएको थियो ।
ग्रामिण क्षेत्रमा रहेका स–साना कृषकहरुलाई वित्तीय सहयोग तथा उद्यमशीलताको विकास गरी ग्रामिण अर्थतन्त्रको विकासको मूल अभिप्रायले वि.सं. २०३२ सालमा नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट साना किसान विकास आयोजना सम्बन्धी ग्रामीण विकास, गरिबी न्यूनीकरण र सीमान्तकृत वर्गको आर्थिक उत्थान गर्र्ने उद्देश्यका साथ पाइलट प्रोजेक्टको रुपमा शुभारम्भ गरी यस बैंकले लघुवित्त कार्यक्रम नेपालको इतिहासमा पहिलो पटक शुरु गरेको गर्विलो इतिहास रहेको छ ।
सरकारको खुला र उदार अर्थनीति लागू भए पश्चात शहरी क्षेत्रको निक्षेप सङ्कलन गरी ग्रामीण क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले वि.सं. २०४१ सालमा वाणिज्य बैङ्किङ कारोबार शुरु गरी नेपालको बैङ्किङ इतिहासमा पहिलो पटक यस बैङ्कले कम्प्यूटर प्रयोग गरी बैङ्किङ सेवा प्रदान गर्न शुरु गरेको थियो ।
वि.सं. २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट “क’’ वर्गको वाणिज्य बैङ्कको इजाजतपत्र प्राप्त यस बैङ्कले कर्जा लगानीद्धारा परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक प्रविधि मार्फत व्यवसायीकरण गर्दै कृषि उत्पादनको माध्यमबाट ग्रामीण क्षेत्रको विकास तथा गरिबी न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउने कार्यमा कृषि विकास बैङ्क लिमिटेड अग्रणी बैङ्कको रुपमा रहेको छ ।
शहरदेखि ग्रामिण क्षेत्रका सर्वसाधारणको घरदैलोमा आधुनिक प्रविधिमार्फत सम्पूर्ण बैङ्किङ सुविधासहितको पूर्ण बैङकिङ्ग सेवा प्रदान गर्न कृषि विकास बैंक निरन्तर क्रियाशील रहेको छ । बैङ्कले मूख्य रूपमा आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्घनमा सहयोग पु¥याउने उद्देश्यका साथ नेपाल सरकारको प्राथमिकता प्राप्त क्षेत्रहरु खाद्यान्नबाली, कुखुरापालन, गाईभैंसीपालन, माछापालन, बंगुरपालन, बाख्रापालन, फलफूल तथा तरकारी खेती र निर्यातजन्य कृषि उपजहरु जस्तैः चिया, कफी, अलैची र अदुवाखेती लगायत कृषि उत्पादनलाई कर्जाको माध्यमबाट व्यवसायीकरण गर्दै लैजानुका साथै उत्पादनमुलक उद्योगहरु जस्तैः जलविद्युत, पर्यटन सिमेन्ट, स्टील, निर्माण व्यवसाय आदिको प्रवद्र्धन र विस्तारको लागि कर्जा लगानी गरी देशको समग्र आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषबीच भएको सम्झौता वमोजिम कृषिको समावेशी रुपान्तरणका लागि मुल्य श्रंखलामा आधारित परियोजना ‘‘भ्यालु चेन फर इन्क्लुसिभ ट्रान्सफरमेसन अफ एग्रिकल्चर(भीटा)’’ कार्यक्रम अन्तरगत बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका २८ वटा जिल्लामा वैंकको ९४ वटा शाखा कार्यालयमार्फत मध्यम तथा लामो अवधिको कर्जा प्रवाह भइरहेको छ । त्यसैगरी नेपाल सरकार र विश्व बैङ्कबीच रणनीतिक जलवायु कोष अन्तरगत ‘‘समृद्घिका लागि वन परियोजना(एफपीपी)’’ अन्तरगतको वन तथा वन पैदावर र वन जन्य अन्य उद्यमहरु स्थापना तथा प्रशोधन हेतु लुम्बिनी तथा मधेश प्रदेश क्षेत्रमा रहेका बैङ्कका सबै शाखाहरु मार्फत कर्जा प्रवाह गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।
बैङकिङ क्षेत्रको वर्तमान बदलिँदो परिवेशलाई मध्यनजर गर्दै “साझा समृद्धिका लागि सबैको रोजाईको बैङ्क” भन्ने दूरदृष्टिका साथ बैङ्कले नयाँ पाँच वर्षे व्यवसायिक योजना २०८१/८२ – २०८५/८६  सञ्चालक समितिबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याएको छ । उक्त पाँच वर्षे व्यवसायिक योजना अनुसार बैङ्कको दूरदृष्टि, ध्येय, उद्देश्य, तथा दीर्घकालीन लक्ष्यहरुलाई परिमार्जन र परिवर्तन गरी २१ औं शताब्दीको प्रतिस्पर्धी, व्यवसायिक, सबल सक्षम र सुदृढ बैङ्कको रुपमा अगाडि बढाउन नयाँ संस्थागत मूल्य मान्यता, संस्थागत चरित्र र संस्कारको विकास गरी अगाडि बढ्न संस्थागत संरचनामा परिवर्तन तथा सुधार सहित नीतिगत तथा रणनीतिक योजनाहरु बनाई कार्यान्वयन गरिएको छ ।
बैङ्कको व्यवसायिक क्षमता लगायत समग्र क्षेत्रहरुमा सकारात्मक सुधार गर्नका लागि अल्पकालिन तथा दिर्घकालिन रणनीतिहरु बनाई लागू गरिएको छ । जस अन्तरगत मानव संशाधन विकासमा जोड दिई बैङ्कले प्रदान गर्ने बैङकिङ सेवाहरुलाई चुस्त दुरुस्त बनाउँदै नैतिकवान तथा अनुशासित कार्य संस्कृतिमा प्रभावकारी रुपान्तरण गर्ने, बैङ्कको कार्य पद्धतिलाई बढी उत्पादनशील बनाउन संगठनात्मक संरचनालाई बिजनेश फङ्सन, अपरेशनल फङ्सन, सपोर्ट फङ्सन तथा रिस्क एण्ड कन्ट्रोल फङ्सन अन्तरगत रहने गरी पुनःसंरचना गर्ने, कार्य संस्कृतिलाई क्रमशः सुधार गर्दै ग्राहक केन्द्रीत कार्य सम्पादनमा आधारित प्रोफेशनल बैङ्किङ कल्चरमा परिणत गरी उत्कृष्ट सेवा प्रदान गर्ने बनाउने, कर्जाको गुणस्तर सुदृढ गर्नका लागि कर्जा प्रशोधन तथा स्वीकृति एवम कर्जा प्रशासन कार्यलाई केन्द्रीकृत गर्दै जोखिम व्यवस्थापन, निरीक्षण तथा अनुगमन विधि र प्रकृयामा समयानुकुल सुधार गर्दै उच्च प्रविधिको प्रयोग गरी सो सम्बन्धी सम्पूर्ण कार्यहरुलाई पेपरलेस बनाई फुल फेज अटोमेशन गर्ने कार्य दु्रत गतिमा सम्पादन भइरहेको छ । ग्राहकको चाहाना र आवश्यकता तथा बजारको माग अनुसार बैङ्किङ सेवाहरुलाई पूर्ण डिजिटल बैङ्किङ सेवा सुविधामार्फत ग्राहकको पूर्ण सन्तुष्टि, बैङ्कको समग्र व्यवसाय बृद्धिका लागि दिगो स्रोतको परिचालन, कर्जा प्रभागको बृद्धि एवम कर्जा मिश्रणको समुचित व्यवस्थापन, बजारमैत्री ब्याजदर व्यवस्थापन, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण तथा बैङ्किङ कारोबारमा अन्तरनिहित जोखिम व्यवस्थापन जस्ता कार्यहरुलाई विशेष प्राथिमकतामा राख्दै रणनीतिक योजना सहित कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै बैङ्कले आफ्ना गतिविधि सञ्चालन गर्दा नेपाल राष्ट्र बैङ्कले जारी गरेका निर्देशनहरुको अक्षरस पालना गर्दै अनुपालना तथा संस्थागत सुशासन कायम गर्न “शून्य सहनशीलता” को सिद्धान्त बमोजिम सम्पूर्ण बैङ्किङ कारोबार सञ्चालनका लागि  विवेकशील नियम र अन्तराष्ट्रिय असल बैङ्किङ अभ्यासहरुको पालना गर्न बैङ्क व्यवस्थापन पूर्ण रुपमा क्रियाशील तथा कटिबद्ध छ ।
यस बैङ्कले गत आर्थिक वर्ष २०८०/८१ को साधारणसभा मिति २०८१/०९/२९ गते सम्पन्न गर्न सफल भएको छ । यसका लागि सहयोग गर्नु हुने सबै नियमन निकायहरु लगायत सबै सरोकारवालाहरु तथा प्रत्यक्ष अप्रत्यक्ष योगदान दिने यस बैङ्कका कर्मचारीहरु सबैलाई हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गर्दछु । गत आर्थिक वर्षको लेखा परिक्षण पश्चातको परिष्कृत वित्तीय विवरण अनुसार चार अर्ब १३ करोड सञ्चालन मुनाफा तथा दुई अर्र्ब ८९ करोड खुद मुनाफा गर्न सफल भई अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
सञ्चालनमा रहेका २० वटा “क” वर्गका वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ मा गरेको खुद मुनाफाको तुलना गर्दा कृषि विकास बैङ्कले सातौं स्थान प्राप्त गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ लागि यस बैङ्कले ७.५३ प्रतिशत नगद लाभांश तथा तीन प्रतिशत बोनस सेयर गरी कूल १०.५३ प्रतिशत बोनस तथा लाभांश वितरण गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गर्ने ११ वटा बैङ्कहरुमध्ये कृषि विकास बैङ्कले चौथो बढी लाभांश वितरण गर्न सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैङ्कले २५२ अर्ब निक्षेप सङकलन गरी २०८ अर्ब कर्जा लगानी गर्न सफल भएको छ जस मध्ये करिब ६८ अर्ब तथा कुल कर्जा प्रभागको ३३ प्रतिशत अंश कृषि क्षेत्रमा लगानी रहेको छ । यस बैङ्कको कुल सम्पत्ति आजको मितिसम्म ३२० अर्ब पुगेको छ भने निष्कृय कर्जा ४.९० प्रतिशत रहेको छ । जुन हाल बैङ्किङ क्षेत्रको समग्र निष्किृय कर्जाको तुलनामा स्वीकार योग्य नै रहेको छ । तर बढ्दो निष्किृय कर्जा र कर्जा असुलीमा देखिएका बाधा व्यवधान, असामाजिक, अमर्यादित, अवाञ्छित गतिविधिहरु तथा कर्जा नतिर्ने नियतबाट प्रेरित केही उच्छ«ङख्रिल व्यक्तिहरुबाट भए गरेका गैर कानुनी कार्यहरु कर्जा गुणस्तर कायम गर्नका लागि ठूलो चुनौति र चिन्ताको विषय बनेको छ ।
देशका ७७ वटै जिल्लामा छरिएर रहेका करिब २१ लाख निक्षेपकर्ताहरुलाई कृषि विकास बैङ्कले आधुनिक बैङ्किङ सेवा प्रदान गरिरहेको छ भने एक लाख ५२ हजार भन्दा बढी उद्यमी व्यवसायी तथा अन्य ग्राहकहरुले कर्जा सुविधा उपभोग गरिरहेका छन् । जस मध्ये एक लाख ४७ हजार भन्दा बढी कर्जा ग्राही २० लाख भन्दा कम कर्जा लिने हुनुहुन्छ भने त्यस मध्ये करिब ८२ हजार कर्जाग्राही किसान हुनुहुन्छ ।
हाल बैङ्किङ क्षेत्रमा देखिएको असहज परिस्थितिका बाबजुद कृषि विकास बैंकको विशिष्टतालाई कायम राख्दै देशका सबै वर्ग, समुदाय र भूगोलसम्म सेवाको पहुँच विस्तार गर्ने क्रममा बैङ्कले २७१  शाखा र २२ एक्सटेन्सन काउन्टर मार्फत ७७ वटै जिल्लाहरूबाट बैङ्किङ कारोबार सञ्चालन गर्दै आएको छ । ४९ भन्दा बढी कार्यालयमा लकर सेवा, १२९ एटीएम, १६ वटा शाखाबाट वैदेशिक विनिमय कारोबार, ८० वटा शाखाबाट राजस्व खाता सञ्चालन तथा ६१ वटा शाखाबाट स्थानीय निकायको खाता सञ्चालन गर्नुका साथै पूर्ण बैकिङ सेवा समेत प्रदान गर्दै आईरहेको छ ।
आधुनिक उच्चस्तरीय बैङ्किङ सेवा, सुविधाहरु उपलब्ध गराउन अल्टरनेट डेलिभरी च्यानल(एडीसी)को विस्तार गर्ने रणनीति अन्तरगत २१ औँ शताब्दीको अत्याधुकि प्रविधि मार्फत बैङ्कसँग सेवाग्राहीहरूलाई जोड्न बैङ्कले डिजिटाइजेशनको अवधारणा अवलम्बन गर्दै पूर्ण प्रविधियुक्त भरपर्दो र सुरक्षित डिजिटल बैङ्किङ प्लेटफर्महरू र अनलाइन सेवाहरू क्यूआर कोड, फोन पे, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएसबाट सेवाहरु प्रदान गर्दै एडीबीएल मोबाइल बैङकिङ एप मार्फत निःशुल्क एसएमएस बैङ्किङ सुविधा उपलब्ध गराउनुको साथै चेक विना नै सहज तथा सुरक्षित रुपमा क्यूआर टेलरबाट क्यू आर स्क्यान गरी आफ्नो खाताको रकम भुक्तानी लिन सक्ने व्यवस्था पनि गरिएको छ । ग्रामीण क्षेत्रका जनताहरूका वित्तीय पहुँच विस्तार र सुरक्षित रूपमा स्थानीय तहबाटै नगद रहित आर्थिक कारोबार गर्नका लागि एडीबीएल रेमिट र अन्य एजेन्सी रेमिटमार्फत राष्ट्रिय अन्तराष्ट्रिय रेमिट्यान्स भित्र्याउन, अनलाइन खाता खोल्ने व्यवस्था सहित इन्टरनेट बैङ्किङ, मोबाइल प्वाइण्ट अफ सेल(एमपीओएस) मेसिन मार्फत कारोबार गर्ने क्यूआर कोडमा आधारित किसान कार्डको वितरण तथा किसान मोबाइल एपको प्रयोगमा व्यापकता ल्याएको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै बैँकको वेभसाइटलाई ग्राहकमैत्री बनाउँदै ग्राहकका जिज्ञासाहरूलाई सम्वोधन गर्न २४ सै घण्टा च्याट बोटको सुविधा समेत उपलब्ध गराएको छ । आगामी दिनमा हाम्रा बैङ्किङ सेवाहरुलाई आधुनिक वित्त बजारसँग थप अद्यावधिक गराउँदै उत्पादनशील अर्थतन्त्र निर्माण गर्न, नेपाल सरकार तथा केन्द्रीय बैङ्कको लक्ष्य अनुसार दीगो तथा समृद्ध अर्थतन्त्र निर्माण गर्न तथा बैङ्कको दूरदृष्टि “साझा समृद्धिका लागि सबैको रोजाईको बैङ्क” बमोजिम सबै सरोकारवालाहरुको अधिकतम दिगो र साझा समृद्धिका लागि निरन्तर कार्य रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौ ।
अन्त्यमा कृषि विकास बैङ्कलाई हालको अवस्थासम्म ल्याई प-याउन सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, कृषि मन्त्रालय, केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्क, विदेशी दातृ निकाय, सम्पूर्ण निकाय तथा कर्जाग्राही महानुभावहरू, सञ्चालक समिति सेयरहोल्डर महानभावहरु, ग्राहक वर्ग, पूर्व कर्मचारी, कर्मचारी साथीहरु एवं यूनियनकर्मी मित्रहरु तथा मिडिया कर्मीमित्रहरु सम्पूर्णमा हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछु ।
आफ्नो व्यस्तताका बाबजुद अमूल्य समय दिई यहाँ उपस्थित भई दिनु भएकोमा प्रमुख अतिथि ज्यू विशिष्ट अतिथि ज्यू लगायत सम्पूर्ण आमन्त्रित पाहुनाहरुलाई ह्रदयदेखि आभार प्रकट गर्दै सम्पूर्णलाई पुनः स्वागत गर्दछु ।
गौरवमय ५७ वर्षको लामो इतिहास पार गरी आजका दिन ५८ वर्षमा प्रवेश गर्दै गरेको यस सुखद घडीमा बैङ्कले सरकारी बैङ्कप्रति ग्राहकहरूको विश्वास थप मजबुत हुने गरी व्यवसायिक विविधता कायम गर्दै बैङ्किङ बजारमा आफ्नो उपस्थितीलाइ दिनानुदिन दरिलो बनाउँदै लगेको छ । सम्पूर्ण बैङ्किङ सुविधा सहितको “साझा समृद्धिका लागि सबैको रोजाईको बैङ्क” भन्ने दूरदृष्टिलाई आत्मसात् गर्दै देशको आर्थिक समृद्धिको यात्रामा निरन्तर अगाडी बढी रहेने पुनः प्रतिवद्धता गर्दै मेरो भनाई यही अन्त गर्न चाहन्छु । धन्यवाद ।
(गुरुङ कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकत हुनुहुन्छ ।)

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ