sajhaartha.com २९ पुष २०८१, सोमवार
२९ पुष २०८१, सोमवार
13th, January 2025, Monday
ताजा खबर

राष्ट्रिय कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने

२९ पुष २०८१, सोमवार साझा अर्थ संवाददाता
9
Shares

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको अधिकृत पूँजी रु. ५० करोड, र जारी पूँजी रु. २५ करोड रहेकोमा भविष्यमा रु. ५० करोड जारी पूँजी पुर्याउने कम्पनीको योजना छ ।  यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरु आवद्ध भइसकेका छन् ।

“माटो देखि सफलता सम्म” भन्ने यसको मूल नाराका साथ २०८१ साल बैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपाल लि.को स्थापना भएको हो । कम्पनीले कृषिलाई सजाँयको पेशाबाट गर्वको पेशामा रूपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पु¥याउने लक्ष्य लिएको छ । कम्पनीले कृषिको ई–कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापना जस्ता महत्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ । दीर्घकालीन लक्ष्यहरुलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ ।

लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ। निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढि प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ। शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ।

साझा अर्थ संवाददाता
२९ पुष २०८१, सोमवार

9

Shares