देशको औद्योगिक विकासका लागि एफएनसीसीआई र नास्टले वैज्ञानिक सहकार्य गर्ने
अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रबृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव
काठमाडौं । नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरुलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्गलगायतका कार्यक्रम सञ्चालनमा नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई¬) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सहकार्य गर्ने भएका छन् ।
एफएनसीसीआई र नास्टबीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मङ्गलबार छलफल भएको हो ।
नाष्टका तर्फबाट महासंघसँग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रबृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेश गरिएको छ ।
नास्टका उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वमा आएको टोलीले एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग छलफल गर्नु भएको थियो ।
यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएको विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतन लगायतका विषयमा नास्टले महासंघसँग सहकार्यका लागि प्रस्ताव गरेको छ ।
छलफलमा महासंघका अध्यक्ष ढकालले नास्टले महासंघसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने बताउनुभयो ।
“निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना जस्ता विषय देशको समग्र विकासका लागि आवश्यक विषय हुन् । यसमा सहकार्य गर्ने वियषमा महासंघ सकारात्मक नै छ । थप अधयन गरेर यस विषयमा ठोस काम गर्न सकिन्छ । ” उहाँले भन्नुभयो ।
यस्तै (नास्ट) का उपकुलपति प्रा.डा.सुब्बाले नास्टले प्रस्तावित गरेका विषयमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताउनुभयो ।
“हामीसँग वैज्ञानिकहरुको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र यसको लागि महासंघ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ ।” उहाँले भन्नुभयो ।