पात्रो

रेडियो

समाचार खोजी

टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान २५ प्रतिशतले घट्यो

साझा अर्थ संवाददाता १९ पुष २०८१, शुक्रवार

पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि संकुचन आयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०१५ सम्म ६ वटा सेवाप्रदायक रहेकामा अहिले दुईवटा सेवा प्रदायक मात्र अस्तित्वमा छन् । सञ्चालनमा रहेका सेवा प्रदायकको आम्दानी पनि औसतमा २५ प्रतिशतले ओरालो लागेको छ ।

टेलिकम सेवाप्रदायकको आम्दानीमा संकुचन आउँदा यसको सोझो असर राज्यले प्राप्त गर्ने राजस्वमा पनि परेको छ । विश्व बैंकले सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा टेलिकम सेवाप्रदायक क्षेत्रको मुलुकको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी०मा करिब चार प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको छ ।

सन् २०१६ मा टेलिकम सेवाप्रदायकको जिडिपीमा ३।९ प्रतिशत योगदान रहेकामा सन् २०२३ मा आइपुग्दा १.८ प्रतिशतमा सीमित भएको छ । त्यति मात्रै होइन, त्यसयता टेलिकम सेवाप्रदायकको योगदान बर्सेनि घट्दो क्रममा छ । विज्ञहरू यदि समयमै नीतिगत सुधार नहुने हो भने टेलिकम सेवाप्रदायकको आम्दानी र सरकारले प्राप्त गर्ने राजस्व थप संकुचित हुने बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वकार्यकारी निर्देशक आनन्दराज खनालका अनुसार हाल टेलिकम कम्पनीहरु संकटोन्मुख अवस्थामा छन् । टेलिकम कम्पनीको अनुमतिपत्र नवीकरण शुल्कदेखि भाइबर, ह्वाट्स एप, इमोलगायत ओटिटी ९ओभर दि टप० प्लाटफर्मलगायतका समस्या सम्बोधन नगर्ने हो भने टेलिकम कम्पनीलाई आगामी दिनमा व्यवसाय सञ्चालन गर्न गाह्रो हुने अवस्था आउन सक्ने उनको विश्लेषण छ ।

तथ्यांकअनुसार सन् २०१७ मा टेलिकम सेवाप्रदायकको जिडिपीमा योगदान ३.४ प्रतिशत, सन् २०१८ मा तीन प्रतिशत, सन् २०१९ मा २.७ प्रतिशत, सन् २०२० मा २.४ प्रतिशत हुँदै सन् २०२१ मा २.२ प्रतिशत र सन् २०२२ मा १.९ प्रतिशतमा सीमित भएको छ । महँगो सञ्चालन खर्च, बर्सेनि ठुलो लगानीका बाबजुद नियमनकारी निकायले सहजीकरण नगरिदिँदा सिर्जित समस्याका टेलिकम सेवाप्रदायकहरूले भोग्नुपरेको विज्ञ खनालको बुझाइ छ ।

‘अर्बौँ लगानी भइरहेका क्षेत्रमा सरकारले पनि सोहीअनुसार उनीहरूलाई आम्दानीका लागि सहजीकरण गरिदिनुपर्छ,’ उनले भने, ‘जबसम्म कम्पनीहरूले आम्दानी गर्न सक्दैनन्, तब प्रभावकारी र गुणस्तरीय सेवाप्रवाह र विस्तार गर्न सक्दैनन्, त्यसैले ठुला लगानी भएका क्षेत्रमा पनि समान र न्यायोचित व्यवहारको आवश्यकता छ ।’

प्राधिकरणका अनुसार हाल सञ्चालनमा रहेका दुई सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मात्रै हालसम्म पाँच खर्बभन्दा बढी राजस्वमार्फत सरकारलाई योगदान गरिसकेका छन् र यो प्रत्येक वर्ष घट्दो अवस्थामा छ । त्यसबाहेक टेलिकम कम्पनीले जनतालाई सञ्चारको सुविधा उपलब्ध गराउँदै अर्थतन्त्रलाई विभिन्न आयामबाट चलायमान बनाइरहेका छन् । हाल यस क्षेत्रमा हाल ४० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् ।

नेपाल टेलिकमले आर्थिक वर्ष ०८०र८१ को वित्तीय प्रतिवेदनमा भ्वाइस, एसएमएस सेवासहित समग्रमा राजस्व घट्नुमा ओटिटी प्लाटफर्मको नकारात्मक प्रभाव नै भएको उल्लेख गरेको छ । साथै प्रविधिमा आएको परिवर्तनका कारण पिएसटिएन तथा एडिएसएल सेवाको राजस्व विगतका वर्षदेखि नै लगातार घट्दो क्रममा रहेको उल्लेख गरेको छ ।

बढ्दो प्रतिस्पर्धाका कारण नियमित रूपमा महसुल दरमा गर्नुपरेको कटौती, सस्तो दररेटमा उपलब्ध अफर प्याकेजका कारण साधारण महसुल प्रयोग गर्नेभन्दा प्याकेज प्रयोगकर्ता बढेपछि ग्राहक संख्या बढे पनि जिएसएम सेवाको राजस्व उक्त आर्थिक वर्षमा ४४ करोडले कम भएको नेपाल टेलिकमले जनाएको छ ।

‘दूरसञ्चार प्रविधिको विकास, इन्टरनेट सेवाको बढ्दो पहुँचका कारण ओटिटी ९जस्तै भाइबर, ह्वाट्सएप, म्यासेन्जर, इमो आदि० सेवाहरूको व्यापक प्रयोग, विदेशबाट हुने आगमन कल र मुलुकभित्रको कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आय करिब ६८ करोडले कम भएको छ भने समग्रमा समीक्षा अवधिमा कुल आय सञ्चालन एक अर्ब ६५ करोडले सञ्चित भएको छ,’ कम्पनीको आव ०७९र८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशाल उपाध्याय सञ्चार क्षेत्रलाई पनि अन्य युटिलिटिज जस्तै सुविधा दिनुपर्ने आवश्यकता औँल्याउँछन् । 

‘हामी सबैले खानेपानीका लागि मासिक रूपमा निश्चित शुल्क तिरिरहेका हुन्छौँ, बिजुली र फोहोरको हकमा पनि त्यही हो, जब कि खानेपानी, बिजुली र फोहोरसम्बन्धी सरकारले दिने सेवा टेलिकमको जस्तो गुणस्तरीय पनि छैन,’ उनले भने, ‘बर्सेनि अर्बौँ रुपैयाँ लगानी भइरहेको यस क्षेत्रको संरक्षण र विकासका लागि पनि सरकारले त्यसप्रकारको नीति ल्याउनु जरुरी भइसकेको छ ।’

हालै एक सार्वजनिक कार्यक्रममा एनसेलका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ९सिइओ० जाब्बोर कायुमोभले टेलिकम कम्पनीको आम्दानी मात्रै घटेका हिसाबले हेर्न नहुने उल्लेख गर्दै यसबाट मुलुकले पनि यस क्षेत्रबाट प्राप्त हुन सक्ने लाभ गुमाइरहेको धारणा राखे ।

उनले टेलिकम क्षेत्रका केही मुद्दा तत्काल नै सम्बोधन नभए अर्बौँको लगानी संकटमा पर्ने दाबी गरे । उनले नेपालले पनि भारत सरकारले जस्तै टेलिकम कम्पनीलाई बचाउनका लागि केही नीतिगत सुधारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । साथै, दीर्घकालीन समयावधि मोडल र मूल्यस्फीतिका आधारमा टेलिकमको मूल्य समाजोजन गर्न सकिने उनको भनाइ छ ।

टेलिकम कम्पनी नियामकीय प्रावधानका कारण पनि आफूहरूको आम्दानी गुमिरहेको बताउँछन् । त्यसैमध्येको एक हो, टिएससी । सन् २०१८ मा १० प्रतिशतमा रहेको टिएससीलाई बढाएर १३ प्रतिशत बनाइयो । जुन वार्षिक सात अर्ब हुन्छ, भने यसमा डाटामा टिएससी लगाउँदा त्यो रकम वार्षिक पाँच अर्ब हुन्छ ।

साथै, स्पेक्ट्रममा बाँडफाँटमा ढिलाइ हुँदा पनि टेलिकमका सेवाप्रदायकलाई घाटा भएको देखिन्छ । डिजिटल भ्यालु एडेड सर्भिसेस ९भिएएस०बाट वार्षिक झन्डै पाँच अर्ब लागत बढेको छ भने इन्टरकनेक्सन दर प्रतिमिनेट ५४ पैसाबाट प्रतिमिनेट एक पैसामा सीमित गर्दा टेलिकम सेवाप्रदायकको वार्षिक तीन अर्बभन्दा बढी गुमेको छ ।

खुम्चँदै आम्दानी

आठ वर्षअघि नेपाल टेलिकम र एनसेलको वार्षिक ९७ अर्ब आम्दानी गरिरहेकामा अहिले त्यो खुम्चिएर ७३ अर्बमा झरेको छ । एनसेलले गरेको एक अध्ययनअनुसार यही नीति कायम नै रहने हो भने आगामी दिनमा दुवै टेलिकमको आम्दानी अझ गुम्ने देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेल टेलिकमको बजार बढ्दै जाने र आम्दानी घट्दै जानुको अर्थ केही नीतिगत रूपमा समस्या रहेको बुझ्न सकिन्छ । सरकारले ठुला लगानी भएका टेलिकम क्षेत्रका लागि पनि सञ्चालन र आम्दानीका लागि सहजीकरण गर्न आवश्यक रहेको उनको बुझाइ छ । टेलिकम क्षेत्रबाट हुने आम्दानी आठ वर्षमा झन्डै २५ अर्ब कम हुँदा राज्य कोषमा पनि असर पर्छ ।

घट्दो भ्वाइस र आइएलडीको आम्दानी

दुवै टेलिकम कम्पनीहरू भ्वाइस, डाटा र अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी संकुचित हुँदै जानुमा ओटिटी प्लाटफर्म भएको बताउँछन् । यसका लागि सरकारले नीतिगत रूपमा समस्या सम्बोधन गर्नुपर्ने उनीहरूको बुझाइ छ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नयाँ बन्न लागेको दूरसञ्चार ऐनको मस्यौदामा आफूहरूले यस प्रकारको समस्या समधान हुने गरी सुझाव दिएको बताउँछिन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७३र७४ मा भ्वाइसबाट हुने आम्दानी ४३ अर्ब ५१ करोड ७० लाख रहेकामा आव ०७९र८० मा आइपुग्दा २५।११ प्रतिशतले घटेर ३२ अर्ब ५८ करोड ८० लाखमा सीमित भएको छ ।

साथै, सोही अवधिमा इन्टरनेसनल लङ डिस्टेन्स कल ९आइएलडी०बाट हुने आम्दानी ५६।६४ प्रतिशतले ओरालो लागेको छ । अर्थात् आव ०७३र७४ मा नेपाल टेलिकम र एनसेलले अन्तर्राष्ट्रिय कलमार्फत २५ अर्बभन्दा बढी आम्दानी गरेकामा आव २०७९र८० मा आइपुग्दा १० अर्ब ८५ करोडमा सीमित भएको छ ।

डाटाको कमजोर खपत

एनसेलका अनुसार हाल ग्राहकहरूले औसतमा मासिक चार जिबी मात्रै डाटा खपत गरिरहेका छन् । दक्षिण एसियाका अन्य देशमा डाटाको खपत नेपालको तुलनामा अत्यधिक बढी छ । तथ्यांकअनुसार बंगलादेशमा १३ जिबी, भारतमा २० र पाकिस्तानको नौ जिबी डाटा मासिक रूपमा प्रत्येक ग्राहकले खपत गरिरहेको अवस्थामा नेपालमा भने विभिन्न कारणले खपत बढ्न सकेको छैन । विश्वमा औसत डाटा खपत प्रतिव्यक्ति २० जिबी छ । एनसेलले गरेको अध्ययनअनुसार ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता ६० प्रतिशत समय वाइफाइ प्रयोग गरिरहेका छन् ।

नवीकरण शुल्कको मार

नेपालमा जिएसएम मोबाइलको नवीकरण शुल्क २० अर्ब छ । जुन आफैँमा निकै धेरै भएको यस क्षेत्रका जानकार बताउँछन् । जब कि टेलिकम कम्पनीहरूले जस्तै इन्टरनेट सुविधा दिने इन्टरनेट सेवाप्रदायकले नवीकरण शुल्क रु। तीन लाख मात्रै बुझाए पुग्छ ।

तथ्यांकअनुसार अधिकांश प्रयोगकर्ता डाटाभन्दा बढी वाइफाइमा आबद्ध हुँदा टेलिकमको आम्दानी घट्दो छ भने इन्टरनेट सेवाप्रदायकको बढ्दो छ । घट्दो आम्दानी भइरहेको अवस्थामा २० अर्बको नवीकरण शुल्क निकै धेरै भएको जानकारहरूको बुझाइ छ ।

छिमेकी मुलुक भारतमा भने जिएसएम मोबाइलको नवीकरण शुल्क ६ देखि १० प्रतिशत निर्धारण गरिएको छ भने आइएसपीको नवीकरण शुल्क आठ प्रतिशत छ । नेपालमा पनि नयाँ निर्माण हुन लागेको दूरसञ्चार ऐनको मस्यौदा पनि जिएसएम मोबाइलको नवीकरण शुल्क आठ प्रतिशत हुने उल्लेख छ । यद्यपि, यो अहिले निर्माणकै प्रक्रियामा छ । रासस

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ