काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा साढे तीन अर्ब बढी रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ६५ करोड ९३ लाख रुपियाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा दुई अर्ब ९२ करोड ७६ लाख रुपियाँ, विकास बैंकहरुमा ५४ करोड ८८ लाख रुपियाँ र फाइनान्स कम्पनीहरुमा १८ करोड २९ लाख रुपियाँ गरी कुल तीन अर्ब ६५ करोड ९३ लाख रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैंकले उक्त निक्षेप २०२५ जनवरी १६ तारिखदेखि २०२६ जनवरी १७ गतेसम्म ३६७ दिन अवधिको लागि राख्न लागेको हो ।
मुद्दती निक्षेप लिन राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले पुस १८ गते बेलुका ७ बजेभित्र तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
निक्षेप रकम राख्न राष्ट्र बैंकले केही शर्त समेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने रहेका छन् ।
यसैगरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने र कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।
साझा अर्थ संवाददाता