sajhaartha.com २८ पुष २०८१, आइतवार
२८ पुष २०८१, आइतवार
12th, January 2025, Sunday
ताजा खबर

बाढी, पहिरो र डुबानमा १२ अर्ब ३६ करोड बढी बीमा दाबी, एक अर्ब १९ करोड भुक्तानी

बीमा दाबी र भुक्तानीको रकममा धेरै ठूलो अन्तर

११ पुष २०८१, बिहिवार साझा अर्थ संवाददाता
95
Shares

काठमाडौं । तीन महिना अगाडि बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म बीमा कम्पनीहरुमा १२ अर्ब रुपियाँभन्दा बढी बीमा वापत माग दाबी परेको छ ।
नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमा गत असोज १० पछिको बाढी, पहिरो र डुबानका कारण पुगेको क्षतिमा हालसम्म बीमा कम्पनीहरुमा १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार ५३१ रुपियाँ बराबरको माग दाबी परेको हो ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमा तीन हजार ५४९ बीमा दाबी संख्याबाट उक्त परिमाणमा दाबी परेको हो । कम्पनीहरुमा दाबी परे अनुसार दाबी भुक्तानी संख्या भने आधा भन्दा पनि कम अर्थात एक हजार ५१४ रहेको छ । तीन महिनाको अवधिमा एक अर्ब १९ करोड ६४ लाख ९० हजार ५५७ रुपियाँ बराबरको मात्रै दाबी भुक्तानी भएको छ ।
यसरी हेर्दा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनी र चार वटा माइक्रोइन्स्योरेन्स कम्पनीको दाबी परेको संख्या र रकमसँग भुक्तानीको संख्या र रकममा धेरै ठूलो अन्तर देखिएको छ । ११ अर्ब १७ करोड ९६ हजार ९७४ रुपियाँ बराबरका दुई हजार ३५ वटा बीमा दाबी भुक्तानीको प्रतिक्षामा रहेका छन् ।  
प्राधिकरणले छिटो र सरल रुपमा दाबी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएपनि दाबी संख्याको आधारमा दाबी भुक्तानी रकम ज्यादै न्यून हो । प्राधिकरणका अनुसार दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्दो क्रममा रहेको छ ।
सर्वाधिक भुक्तानी गर्ने शिखर
हालसम्म माग बीमा दाबी पर्नेमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ । शिखरमा ४५७ वटा बीमा दाबी परेका छन् भने अहिलेसम्म ४०७ वटा दाबीको भुक्तानी भइसकेको छ । सो कम्पनीमा एक अर्ब १५ करोड ९५ लाख ६८ हजार ८५९ रुपियाँ बराबरको बीमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म ३० करोड ७८ लाख २८ हजार ४८० रुपियाँ भुक्तानी भइसकेको छ ।
सिद्घार्थमा सर्वाधिक दाबी, भुक्तानी न्यून
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्घार्थमा सर्वाधिक ५०८ वटा दाबी परेको छ । तर दाबी संख्याको तुलनामा पचास प्रतिशत पनि भुक्तानी भएको छैन । कम्पनीबाट भुक्तानी भएको दाबीको संख्या २१९ मा सीमित रहेको छ ।
सिद्घार्थमा दुई अर्ब ६२ करोड ८६ लाख ३४ हजार ५५ रुपियाँ बराबरको बीमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म २५ करोड ५२ लाख ९८ हजार ८२४ रुपियाँ भुक्तानी भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४२२ वटा बीमा दाबी परेका छन् भने अहिलेसम्म १३७ वटा मात्रै दाबीको भुक्तानी भएको छ । सो कम्पनीमा एक अर्ब ३४ करोड ९५ लाख १२ हजार ११३ रुपियाँ बराबरको बीमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म १४ करोड ५४ लाख एक हजार ६२२ रुपियाँ भुक्तानी भएको छ ।
अजोडको भुक्तानी पाँच प्रतिशत
यूनाइटेड अजोड इन्स्योरेन्सले दाबी परेकोमध्ये पाँच प्रतिशतमात्रै भुक्तानी गरेको छ । अजोडमा ३३३ वटा बीमा दाबी परेका छन् भने ज्यादै न्यून संख्या ६२ वटाको दाबी भुक्तानी भएको छ ।
सो कम्पनीमा ७४ करोड ४५ लाख ३२ हजार ८८५ रुपियाँ बराबरको दाबी परेको छ भने त्यसको एक करोड २८ लाख ८४ हजार ७९९ रुपियाँमात्रै अहिलेसम्म भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार बीमा लेखको प्रकार हेर्दा सम्पत्ति बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा (निजी), मोटर बीमा (सार्वजनिक), सामुद्रिक बीमा, कृषि बाली बीमा, पशुपन्छी बीमा र विविध रहेका छन् ।
बीमा दाबी परेमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमाअन्तगत बीमा माग दाबी परेको छ । सम्पत्ति बीमामा एक हजार ७२५ वटा संख्यामा नौ अर्ब चार करोड ७७ लाख १२ हजार २९८ रुपियाँ बराबरको माग दाबी परेको छ । सबैभन्दा धेरै भुक्तानी पनि सम्पत्ति बीमामा भएको छ । हालसम्म सम्पत्ति बीमा बीमामा ६५१ वटा माग दाबीको ८७ करोड ४९ लाख ६० हजार ५३३ रुपियाँ बराबरको भुक्तानी भएको छ ।
सम्पत्तिपछि मोटर बीमा (निजी) मा ८९४ वटा संख्यामा ३७ करोड ४५ लाख ३५ हजार ६१६ रुपियाँ बराबरको माग दाबी परेको छ । यसमा पनि धेरै भुक्तानी भएको छ । हालसम्म मोटर बीमा (निजी) मा ८४ वटा माग दाबीको ११ करोड ५९ लाख ५० हजार ५९० रुपियाँ बराबरको भुक्तानी भएको छ ।

साझा अर्थ संवाददाता
११ पुष २०८१, बिहिवार

95

Shares