पात्रो

रेडियो

समाचार खोजी

निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ ।
धितोपत्र दर्ता तथा निष्काशन नियमाबली २०७९ को नियम ३८ (१ क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको भनाई छ ।
संघे जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सेयर विक्रीसम्वन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सवै सेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित भएको छैन ।’’
संघका अध्यक्ष राजेन्द्र मल्ल, सहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउन आग्रह समेत गरेको छ ।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताउनुभयो ।
सञ्चालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।
कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’’
सेयर बिक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक गानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।

213 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ