काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई करसहित प्रतिसेयर ३० रुपियाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान १० बजे १७ औँ वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक तीन लाख रुपियाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमाबलीमा संशोधन गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारणसभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
साझा अर्थ संवाददाता