पाँच महिनामा १३ अर्ब चार करोड रुपियाँको विद्युत भारत निर्यात
विद्युत बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी
काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट सात रुपियाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको प्राधिकरणले जनाएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपियाँ (भारु)मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत निर्यात भएको छ भने मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपियाँको मात्र निर्यात भएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपियाँको विद्युत भारततर्फ निर्यात गरिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढीपहिरोका कारण मुख्य रुपमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रमा क्षति पुगी विद्युत उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताउनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरुमा विद्युत निर्यात घटेको र सुख्खायाम सुरु भएसँगै जलविद्युत आयोजनाहरुको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नु परेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।
अहिले विद्युत निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन कमी भई देशभित्रको विद्युत माग धान्न हिउँदका केही महिनामा विद्युत आयात गर्नुपर्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालू आवमा करिब ३० अर्ब रुपियाँ विद्युत निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पु¥याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोर क्षति पु¥याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाहरुको करिब दुई सय मेगावाट विद्युत उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी आगामी पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत निर्यात क्रमश ः घट्दै जाने छ ।
प्राधिकरणले हालसम्म प्रतिष्पर्धी बजार र मध्यकालीन विद्युत बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपियाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपियाँको विद्युत निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपियाँ बढीको विद्युत निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत निर्यातकर्ता बनेको थियो ।
25
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’
-
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा