पात्रो

रेडियो

समाचार खोजी

प्रतिष्ठा र परीक्षणको विषय बन्दै गौरीशंकर गाउँपालिकाको उपनिर्वाचन

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार


दाेलखा: आसन्न गौरिशंकर गाउँपालिका उपाध्यक्षको उपनिर्वाचन दोलखामा क्रियाशिल राजनैतिक दलहरुकालागि प्रतिष्ठा अनि परीक्षणको विषय बनेको छ । स्थानीय तहमा शक्तिका हिसावले उपाध्यक्षको भूमिका खासै धेरै नहुने भएता पनि गौरीशंकर गाउँपालिका दोलखाका विशेष गरी राजनैतिक दलका हस्तीहरुको गृह पालिका भएकोले यो उपानिर्वाचन निक्कै ठूलो प्रतिष्ठाको विषय बन्न पुगेको देखिएको छ । जस्काकारण यो निर्वाचनमा प्रमुख राजनैतिक दलहरुले आफ्नो सम्पुर्ण ध्यान यो  निर्वाचन केन्द्रीत गरेका छन् । 

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र  माओवादी केन्द्रको गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका श्यामसुन्दर तामाङले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा जित हाँसिल गरेका थिए । स्थानीय जनतासँग निक्कै सुमधुर सम्बन्ध भएका तामाङको हृदयाघातबाट मृत्यु भएपछि रिक्त भएको उपाध्यक्ष पदकालागि अहिले उपनिर्वाचन भइरहेको छ । आफ्ना निक्कै लोकप्रिय नेता तामाङको निधन पछि रिक्त भएको पदमा नेपाली काँग्रेसले उहाँकी धर्मपत्नी पासदिकी शेर्पा,तामाङलाई उम्मेद्वार बनाएको छ । स्वर्गीय तामाङको लोकप्रियता, पार्टीको सांगठनिक मत, कम्युनिष्ट विरोधी मत  तथा पासदिकी तामाङप्रतिको सहानुभूतिको मतले आफ्ना उमेद्वारले निर्वाचन जित्ने नेपाली काँग्रेसको आशा छ । तर पहिले गठबन्धनहुँदा जितेकोमा अहिले एक्लै लड्दा काँग्रेसलाई आफ्ना उम्मेद्वार जिताउन निक्कै सकसहुने स्थानीयहरु बताउँछन् । आफूले जितेको स्थान जोगाउनु प्रतिष्ठाको विषय भएकोले आफ्नो उमेद्वारलाई विजय गराउन नेपाली काँग्रेस दोलखाका नेताहरु चुनाव प्रचारमा दिलोज्यानले लागेका छन् । यो स्थानीय तह नेपाली काँग्रेका पूर्व पार्टी सभापति रुद्रबहादुर खड्काको गृह पालिका हो । 

यस्तै गौरीशंकर गाउँपालिका तुलनात्मक रुपमा बलियो संगठन भएको नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङको गृह पालिका हो । परमपरागत रुपमा एमाले हावी हुने गरेको यो स्थानीय तहमा अघिल्लो चुनावमा काँग्रेस माओवादी तथा सामाजवादी गठबन्धनले  एमालेलाई नराम्रोसँग हराएको थियो । अघिल्लो हारकाकारण यो पटक सबै दलले उमेद्वारी दिएका कारण उपाध्यक्ष पद हातपार्न सहज हुने एमाले बृत्तको अनुमान छ । निर्वाचन प्रचार अभियान सुरु भएदेखिनै पोलिटब्युरो सदस्य पार्वत गुरुङ सहित एमाले दोलखाको हाइकमाण्ड पुरै समय गौरीशंकरमा प्रचार अभियानमा जुटेको छ । एमालेले उमा शेर्पालाई मैदानमा उतारेको छ । अघिल्लो निर्वाचनमा भएको पराजयको पिडालाई उपाध्यक्षमा जितहाँसिल गरेर मलमपट्टी गर्ने उद्द्श्यकासाथ एमाले निर्वाचनमा होमिएको छ । 

नेकपा माओवादी केन्द्रकालागि पनि यो निर्वाचन उच्च प्रतिष्ठाको विषय बन्न पुगेको छ । किनकी गौरीशंकर गाउँपालिका वर्तमान प्रतिनिधिसभा सदस्य गंगा कार्की, पूर्व मन्त्री देवि खड्का तथा विशाल खड्काको गृह पालिका हो । अधिकाँस वडा तथा पालिका अध्यक्ष माओवादी केन्द्रलेनै जितेकोले उपाध्यक्ष पद जितेर आफ्नो शाख जोगाई राख्नु पर्ने दवावमा माओवादी रहेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्ष बनेका विश्वास कार्कीको कामको जनस्तरबाट मध्यावधि मूल्याङ्कन समेत यो निर्वाचनमा हुने जित हारबाट तय हुने गौरिशंकरका स्थानीयहरुको भनाई रहेको छ । बलियो पार्टीको संगठन, अधिकाँस वडा तथा गाउँपालिका अध्यक्षमा समेत आफ्नै पार्टीका नेता भएको कारण यसको लाभ माओवादी उमेद्वारलाई मिल्न सक्ने आँकलन गरिएको छ । नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पालाई उपाध्यक्ष पदमा उमेद्वार बनाएको छ । 

जिल्लामा क्रियाशिल प्रमुख तिन राजनैतिक दल तथा ति दलका नेताहरुलाई यो निर्वाचन प्रतिष्ठाको विषय बन्न पुगेजस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी लगायतका दलहरुलाई स्थनीय जनतामा आफ्नो वास्तविक अवस्था परीक्षण गर्ने अवसरको रुपमा समेत रहेको छ । रास्वपाले गोमा श्रेष्ठ, एकिकृत समाजवादीले रविना खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले मनकुमारी श्रेष्ठ लाई उपाध्यक्ष पदको उमेद्वार बनाएका छन् । रास्वापमा युवाहरुको आकर्षण बढी रहेको रास्वपा नेताहरुको दावी छ भने आफ्नो संगठित मत तथा एमाले तथा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुको मत आफूलाई प्राप्तहुने विश्वास एकिकृत समाजवादीको रहेको छ । राप्रपाका राजावादी परमपरागत मत छन् । यसै गरी अन्य साना दलकहरु तथा स्वतन्त्रले समेत उमेद्वारी दर्तागरी मतदाता आकर्षित गर्ने प्रयत्न गरिरहेका छन् । 

विभिन्न दल तथा स्वतन्त्रले उमेद्वारी दिएपनि मुख्य प्रतिष्पर्धा भने नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र  विचमा नैं हुने देखिएको छ । तीन दल विचको प्रतिश्पर्धामा यसैले बाजी मार्छ भन्ने अवस्था नरहेको विश्लेषकहरुको भनाई रहेको छ । दोलखाका मुलधारका राजनैतिक पार्टीहरु भित्रको आन्तरिक राजनीतिमा भने यो निर्वाचनमा हुने हारजितले ठूलै प्रभावपार्ने आँकलन गर्न सकिन्छ ।

643 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ