झापा : पूर्वीनाका काँकडभिट्टाबाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । गत आर्थिक वर्षमा सो परिमाणमा प्लाईउड तथा भेनियर निर्यात भएको हो
सोही अवधिमा रु २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने रु दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी दिनुभयो ।
यस्तै, रु चार लाख ५९ हजार मूल्य बराबरको ९२ मेट्रिक टन प्लाइउड उत्पादन गर्ने क्रममा निस्कने काठको धुलोसमेत र रु १८ लाख ८२ हजार मूल्य बराबरको तीन मेट्रिक टन काठबाट बनेका हस्तकलाका सामान भारत निर्यात गरिएको उहाँले जानकारी दिनुभयो ।
पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ ।
साझा अर्थ संवाददाता