काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) को पहिलो सात महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ देखिएको छ भने मुद्रास्फीति पनि तुलनात्मक रूपमा न्यून स्तरमा कायम रहेको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ। रेमिट्यान्स आप्रवाह उच्च दरले बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार कुल विदेशी मुद्रा सञ्चिति बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२.७६ अर्ब बराबर हो। हालको सञ्चिति आगामी वस्तु तथा सेवा आयातका लागि करिब १८ महिनासम्म पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा भुक्तानी सन्तुलन (बीओपी) पनि ५ खर्ब ७२ अर्ब रुपैयाँ बचतमा रहेको छ।
मूल्यवृद्धिको पक्षमा भने उपभोक्ता मुद्रास्फीति घटेर ३.२५ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो। तर थोक मूल्य सूचकांक भने ६.२१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ, जसले उत्पादन तथा लागत पक्षमा केही दबाब रहेको संकेत गर्दछ।
व्यापारतर्फ भने आयात–निर्यात असन्तुलन कायमै देखिएको छ। समीक्षा अवधिमा निर्यात ३२.२ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ भने आयात १३.६ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। यससँगै कुल व्यापार घाटा बढेर ९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि निर्यात–आयात अनुपात भने अघिल्लो वर्षको १२.९ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ।
बैंकिङ क्षेत्रतर्फ भने निक्षेप वृद्धि सन्तोषजनक देखिए पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेको छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप वार्षिक आधारमा १४.९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। यस अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर घटेर ५.१२ प्रतिशतमा झरेको छ।
समष्टिगत सूचकांकहरू हेर्दा नेपालको बाह्य क्षेत्र बलियो रहँदा मुद्रास्फीति नियन्त्रणमा रहेको देखिन्छ। तर कर्जा विस्तारको गति अपेक्षाकृत सुस्त रहनुले घरेलु आर्थिक गतिविधि अझै पूर्ण रूपमा विस्तार भइसकेको छैन भन्ने संकेत गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।