नेपाल धितोपत्र बोर्डले कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन प्रस्ताव स्वीकृत गरेको छ। माघ १९, २०८२ मा जारी स्वीकृतिअनुसार कम्पनीले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्नेछ। प्रति कित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। सार्वजनिक निष्कासनको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेडले कालिन्चोक हाइड्रोपावरलाई ‘केयर–एनपी बीबी (आइस)’ जारीकर्ता श्रेणीकरण पुनः पुष्टि गरेको छ, जसले नेपालभित्र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। २०७३ जेठ ६ गते दर्ता भई २०७९ असार १ गते सार्वजनिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीले दोलखा जिल्लामा ५ मेगावाट क्षमताको सङ्गु (सोरुन) खोला जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण मोडेलमा विकास गरिरहेको छ।
यस्तै, नेपाल धितोपत्र बोर्डले अपोलो हाइड्रोपावर लिमिटेडको पनि आईपीओ प्रस्ताव स्वीकृत गरेको छ। माघ २०, २०८२ मा स्वीकृत प्रस्तावअनुसार कम्पनीले सर्वसाधारणका लागि १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्नेछ, जसको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यस निष्कासनको बिक्री प्रबन्धकका रूपमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
केयर रेटिङ्स नेपाल लिमिटेडले अपोलो हाइड्रोपावरको जारीकर्ता श्रेणीकरण ‘केयर–एनपी बीबी माइनस (आइस)’ तथा दीर्घकालीन बैंक ऋण श्रेणीकरण ‘केयर–एनपी बीबी माइनस’ कायम गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ। निजी कम्पनीका रूपमा स्थापना भई २०७९ असोज ६ गते सार्वजनिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीले ओखलढुंगा जिल्लामा ६ मेगावाट क्षमताको रन–अफ–द–रिभर जलविद्युत् आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण मोडेलमा विकास गरिरहेको छ।