काठमाडौं। नेपाल र भारतबीच व्यापार सहजीकरण तथा भन्सार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निकासी गरिने वस्तुको आगमनपूर्व सूचना आदान–प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारतको तर्फबाट केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गर्नुभयो ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार प्रमुख व्यापारिक साझेदार मुलुकहरूबीच वस्तु आयात–निर्यातका क्रममा आगमनपूर्व सूचना आदान–प्रदान गर्दै जोखिम व्यवस्थापनमार्फत व्यापार सहजीकरण गर्ने व्यवस्था रहँदै आएको छ।
सोही अभ्यासअनुसार नेपाल र भारतबीच निकासी हुने वस्तुको तथ्याङ्क अग्रिम रूपमा आदान–प्रदान गर्ने व्यवस्था लागू गर्न उक्त समझदारीपत्र तयार गरिएको हो।
समझदारीपत्रको मस्यौदामाथि दुवै देशका सम्बन्धित निकाय तथा सरोकारवालाहरूसँग आवश्यक छलफल गरी अन्तिम रूप दिइएको थियो। नेपाल सरकार (मन्त्रिपरिषद्) बाट स्वीकृति प्राप्त भएपछि भन्सार विभागका महानिर्देशकलाई समझदारीपत्रमा हस्ताक्षर गर्ने अधिकार प्रदान गरिएको थियो।
समझदारीपत्रमा जोखिम विश्लेषणका माध्यमबाट भन्सार नियन्त्रणलाई सुदृढ गर्ने, भन्सार प्रक्रियामा लाग्ने समय घटाई व्यापार सहजीकरण गर्ने, सुरक्षित अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित गर्ने, राष्ट्रिय कानुनले तोकेको सीमाभित्र रही विद्युतीय माध्यमबाट निकासीसम्बन्धी तथ्याङ्क आदान–प्रदान गर्ने तथा सूचनाको प्रयोग समझदारीपत्रअनुसार मात्र गर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, समझदारीपत्रको कार्यान्वयनका लागि दुवै पक्षबाट सम्पर्क अधिकारी तोक्ने, प्रारम्भमा सहमति भएका तोकिएका वस्तुहरूमा नमूनाका रूपमा लागू गरी पछि सबै वस्तुहरूमा विस्तार गर्ने, कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने विवाद आपसी सहमतिमा कूटनीतिक माध्यमबाट समाधान गर्ने तथा आवश्यक परे आपसी समझदारीमा समझदारीपत्र संशोधन गर्न सकिने प्रावधान पनि समावेश गरिएको छ।
समारोहमा बोल्दै भन्सार विभागका महानिर्देशक भण्डारीले उक्त समझदारीपत्रले नेपाल र भारतबीचको भन्सार प्रशासनिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले आगमनपूर्व सूचना आदान–प्रदानबाट जोखिमयुक्त वस्तुको पहिचान तथा निगरानी गर्न सहज हुने र इमानदार व्यवसायीलाई थप सहजीकरण भई भन्सार जाँचपास प्रक्रिया छिटो, सरल र प्रभावकारी हुने बताउनुभयो ।
त्यसैगरी, भारतका केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष चतुर्वेदीले नेपालसँग यस किसिमको समझदारीपत्रमा हस्ताक्षर हुनुलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै यसको शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि भारत सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशकसहित चार जना अधिकारीहरूको उपस्थिति रहेको थियो भने भारतको तर्फबाट सम्बन्धित निकायका उच्च अधिकारीहरू सहभागी थिए ।