सिरहा : सिरहाको गोसाइ डाँडा तालले पर्यावरण संरक्षण र सामुदायिक पर्यटनको अनौठो संयोजन गर्दै आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । लहान नगरपालिका–१५ मा झवाई खोल्सी सामुदायिक वनले पाँच वर्षअघि निर्माण गरेको यो तालले चुरे क्षेत्रको भूमिगत पानी स्तर बढाउनुका साथै स्थानीय थारू र मुसहर समुदायको आय आर्जनको नयाँ श्रोत पनि बनेको छ । हाल शनिबार र सार्वजनिक बिदाका दिनमा यहाँ उल्लेख्य संख्यामा पर्यटकको भिड लाग्ने गरेको स्थानीयहरु बताउनु हुन्छ ।
तालको बीचमा रहेको जमिनले पर्यटकलाई पोखराको फेवातालको स्मरण गराउँछ । डुङ्गा चलाउने, वनभोज र थारू संस्कृति आधारित होमस्टे जस्ता सेवाहरूले यो क्षेत्रलाई निक्कै रमाइलो बनाएको छ । सामुदायिक वनले माछापालनबाट वार्षिक दुई लाख र वन उत्पादनबाट पाँच लाख रुपैयाँ आय अर्जन गर्दै आएको छ । लहान नगरपालिकाले बानो खोलामा ३५ लाखको लागतमा पुल निर्माण गर्दै छ भने भविष्यमा चिल्ड्रेन पार्क, भ्युटावर लगायतका संरचानाको निर्माण गरिने नगरपालिकाको भनाई रहेको छ
उचित संरचनात्मक विकास र प्रचारप्रसार गर्न सकिए यो क्षेत्र मधेस प्रदेशको एक नमूना पर्यापर्यटन गन्तव्य बन्न सक्ने नगरको विश्वासछ । गोसाइ डाँडा तालले प्राकृतिक स्रोत संरक्षण, सामुदायिक सहभागिता र स्थानीय आर्थिकी विकासलाई एउटै सूत्रमा बाँध्न सफल भएको छ, जुन समग्र विकासको एउटा अनुकरणीय नमुना प्रस्तुत गरेको छ ।