काठमाडौं । प्रधानमन्त्री सुशीलाकी कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरू, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नेपालमा देखिएका विभिन्न सामाजिक–राजनीतिक आन्दोलनहरू तथा जेन–जी पुस्ताबाट उठिरहेका सदाचार र सुशासनसम्बन्धी मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्ने उहाँको भनाइ थियो।प्रधानमन्त्री कार्कीले स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र नभई व्यवहारिक जीवन पद्धति भएको उल्लेख गर्दै यसले व्यक्तिलाई आन्तरिक रूपमा खुसी र शान्त बनाउने तथा बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने बताउनुभयो। “स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउँछ, त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्छ,” उहाँले भन्नुभयो। “स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैंसँग गर्छ।”