पात्रो

रेडियो

समाचार खोजी

कर्णाली सरकारले तीन स्वास्थ्य संस्थालाई तीन करोड बजेट अख्तियारी दिने निर्णय

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

 कर्णाली प्रदेश सरकारले प्रदेशका तीन स्वास्थ्य संस्थाको सेवा सुदृढीकरणका लागि तीन करोड रुपैयाँ बराबरको बजेट अख्तियारी दिने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दैलेख, सुर्खेत र जुम्लाका एक–एक स्वास्थ्य संस्थाको सेवा विस्तार तथा सुधारका लागि सम्बन्धित स्थानीय तहलाई बजेट अख्तियारी दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहका अनुसार सुर्खेतको सालकोट अस्पतालका लागि पंचपुरी नगरपालिकालाई एक करोड, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

सरकारले प्रादेशिक अस्पताल नपरेका सङ्घीय निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई सुदृढ बनाउन “सेवा सुदृढीकरण कार्यक्रम” अन्तर्गत बजेट व्यवस्थापन गरिएको प्रवक्ता शाहले जानकारी दिए।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाइ सुर्खेत, र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आयोजना कार्यान्वयन इकाइ सुर्खेत) का लागि अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय राकम, दैलेखको अधुरो भवन निर्माणका लागि ६० लाख रुपैयाँ अख्तियारी सम्बन्धित कार्यालयलाई प्रदान गर्न नेपाल सरकारको गृह तथा अर्थ मन्त्रालयसँग स्वीकृति माग्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शाहले बताए।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु