२०८२ पुस २४, काठमाडौं | लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता (होटेल म्यानेजमेन्ट एग्रिमेन्ट) गरेको छ। यससँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ नामबाट सञ्चालनमा आउने भएको छ। काठमाडौं उपत्यकाबाहिर म्यारियट ब्रान्डको यो नेपालमै पहिलो उपस्थिति हुनेछ। कम्पनीका अनुसार लगातार तीन वर्ष नाफामा सञ्चालन भइसकेको रिसोर्टले चालु आर्थिक वर्षभित्र पाँचतारे होटलको इजाजत लिने तयारी अघि बढाएको छ।
यस परियोजनालाई नेपालकै पहिलो ‘वाटर रिसोर्ट’का रूपमा विकास गर्ने योजना रहेको छ। रिसोर्टमा संगीतसँगै सञ्चालन हुने फोहोरा, थ्री–डी वाटर स्क्रिन, मिनी क्रुज, पानीमै भोजन गर्ने सुविधा तथा विशेष स्पा संरचनाजस्ता अत्याधुनिक आकर्षण समावेश गरिनेछ। साथै, यसलाई हरित प्रमाणीकरण (गोल्ड) प्राप्त इको–वेलनेस रिसोर्टका रूपमा विकास गर्दै दिगोपन, जैविक स्वास्थ्य पद्धति, खेल पर्यटन पूर्वाधार र प्राकृतिक उपचार प्रणालीलाई प्रवर्द्धन गरिनेछ।
लुम्बिनीको आध्यात्मिक पहिचानलाई समेट्दै रिसोर्टभित्र बुद्ध थीम पार्क, ध्यान केन्द्र तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिने कम्पनीले जनाएको छ। अनुभवी अन्तर्राष्ट्रिय नेतृत्व टोलीको नियुक्तिसँगै यो रिसोर्ट सम्मेलन, गन्तव्य विवाह तथा समग्र पर्यटन गतिविधिको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै क्षेत्रीय आर्थिक गतिविधिमा समेत उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले आगामी दिनमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीसमेत अघि बढाएको जानकारी दिएको छ।