पात्रो

रेडियो

समाचार खोजी

गृह मन्त्रालयको देशव्यापी निर्देशन: धार्मिक सहिष्णुता र सामाजिक सद्भाव मजबुत पार्न १० बुँदे परिपत्र जारी

साझा अर्थ संवाददाता २३ पुष २०८२, बुधवार

काठमाडौं, पुस २३ | गृह मन्त्रालयले देशभर धार्मिक सहिष्णुता र सामाजिक सद्भाव सुदृढ बनाउनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे परिपत्र पठाएको छ। पछिल्ला केही समयदेखि तराई–मधेसका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक असहिष्णुताका घटनाहरू बढ्दै गएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

उपसचिव रमा आचार्य सुवेदीले हस्ताक्षर गरेको उक्त परिपत्रमार्फत प्रमुख जिल्ला अधिकारीहरूलाई गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तुरुन्त कानुनी कारबाही गर्न निर्देशन दिइएको छ। साथै, राजनीतिक दलका प्रतिनिधि, सामाजिक, सांस्कृतिक र धार्मिक अगुवासँग नियमित समन्वय बैठक आयोजना गरी सद्भाव र सहिष्णुताको वातावरण बलियो बनाउन मन्त्रालयले आग्रह गरेको छ।

परिपत्रमा जिल्लास्तरमा स्थानीय भाषामा सचेतना र प्रचार–प्रसार कार्यक्रम सञ्चालन गर्न, स्थानीय सञ्चार माध्यममार्फत सहिष्णुता प्रवर्द्धन गर्ने अभियान अगाडि बढाउन तथा प्रदेश र स्थानीय तहबीच समन्वयकारी पहल सुनिश्चित गर्न भनिएको छ। साथै, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गर्न र विगतका अभिलेखका आधारमा संवेदनशील चाडपर्व वा कार्यक्रमहरू पहिचान गरी वार्षिक कार्यतालिका तयार पार्न पनि निर्देशन गरिएको छ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ