काठमाडौं, २३ पुस २०८२ | सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाका आयोजना प्रभावित स्थानीयवासीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज मङ्गलबार बन्द गर्दैछ। कम्पनीले पुस ९ गतेदेखि आयोजना प्रभावितका लागि आईपीओ खुला गरेको थियो।
कम्पनीको जारी पुँजी ६८ करोड ९६ लाख रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिने व्यवस्था छ। कुल निष्कासनमध्ये १० प्रतिशत बराबर ६ लाख ८९ हजार ६७५ कित्ता सेयर नुवाकोट जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। बाँकी १० प्रतिशत अर्थात् ६ लाख ८९ हजार ६७५ कित्ता सेयर आगामी चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
सर्वसाधारण कोटामध्ये १० प्रतिशत अर्थात् ६८ हजार ९६७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आरक्षित गरिएको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेडले सूर्यकुण्ड हाइड्रोको इश्यूअर रेटिङ ‘CARE-NP BB- (Is)’ यथावत् राखेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको जनाउँछ। साथै, कम्पनीका दीर्घकालीन बैंक ऋण सुविधालाई ‘CARE-NP BB-’ र अल्पकालीन बैंक ऋण सुविधालाई ‘CARE-NP A4’ रेटिङ पुनः पुष्टि गरिएको छ। सन् २०२३ जुलाई ६ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको सूर्यकुण्ड हाइड्रोले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको ११ मेगावाट क्षमताको अपर तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जुन बुट (BOOT) मोडलमा विकास गरिएको आयोजना हो।