पात्रो

रेडियो

समाचार खोजी

शिखर पावरको आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुल्दै

साझा अर्थ संवाददाता २३ पुष २०८२, बुधवार

काठमाडौं, २३ पुस २०८२ | 

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (EIA) तथा विद्युत उत्पादन अनुमतिअनुसार आयोजना प्रभावित स्थानीयवासी, बागलुङ जिल्लाका प्रसारण लाइन प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को प्रस्ताव पत्र सार्वजनिक गरेको छ।

आयोजना तथा प्रसारण लाइन प्रभावित स्थानीयका लागि आईपीओ माघ ६ गतेदेखि २० गतेसम्म खुला रहनेछ। सो अवधिभित्र सबै सेयर बिक्री नभए फागुन ८ गतेसम्म अवधि थप हुन सक्ने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने माघ ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिनेछ, र सो समूहमा सेयर अविक्रीत रहेमा माघ २० गतेसम्म समयावधि बढ्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीको जारी पुँजी ९८ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ। कुल निष्कासनमध्ये १० प्रतिशत बराबर ९ लाख ८० हजार कित्ता सेयर आयोजना तथा प्रसारण लाइन प्रभावित स्थानीयका लागि छुट्याइएको छ। बाँकी २२.६५ प्रतिशत अर्थात् २२ लाख २० हजार कित्ता सेयर आगामी चरणमा सर्वसाधारणका लागि ल्याइनेछ। सबै सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गरिनेछ। सर्वसाधारण कोटामध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित गरिएको छ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यसैबीच, इक्रा नेपाल लिमिटेडले शिखर पावरको इश्यूअर रेटिङलाई [ICRANP-IR] BB- बाट स्तरोन्नति गरी [ICRANP-IR] BB मा पुर्‍याएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। सन् २०१४ सेप्टेम्बरमा स्थापना भई २०२२ जुनमा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको शिखर पावरले ४.९६ मेगावाट क्षमताको भीम खोला साना जलविद्युत आयोजना विकास गरिसकेको छ, जसले सन् २०२५ जनवरीदेखि व्यावसायिक उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ। साथै, बागलुङमै ६.०५ मेगावाट क्षमताको लोअर भीम खोला क्यास्केड आयोजना निर्माणाधीन छ, जसको सम्पन्नता सन् २०२७ जुनसम्म लक्ष्य गरिएको छ।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ