काठमाडौँ, २१ पुस । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुनः खुलेसँगै नेपालतर्फ सामान आयात सुरु भएको छ । करिब ६ महिनापछि नाका सञ्चालनमा आएपछि इलेक्ट्रिक सवारीसाधनदेखि दैनिक उपभोग्य वस्तुसम्मका सामान नेपाल भित्रिएका छन् ।
रसुवागढी सीमा सुरक्षा पोस्टका अनुसार शनिबार मात्रै १८ वटा इलेक्ट्रिक माइक्रोबस नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षमा पहिलो पटक यस्तो सवारीसाधन आयात भएको हो । ती माइक्रोबसहरू हाल तिमुरेमा पार्किङ गरिएको र आयातकर्ताले भन्सार तथा राजस्व प्रक्रिया पूरा गर्दै गरेको जनाइएको छ ।
उही दिन ३९ वटा कन्टेनर पनि रसुवागढी हुँदै नेपाल प्रवेश गरेका छन् । ती कन्टेनरमा स्याउ, लुगा, लसुन, स्पेयर पार्ट्स, अखरोट, ब्याट्री र औषधि सामग्री रहेको रसुवागढी भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमले जानकारी दिए ।
भन्सार कार्यालयका अनुसार नाका खुलेपछि दुई दिनभित्र ९६ वटा कन्टेनर नेपाल भित्रिसकेका छन् ।
“स्याउ र अखरोटजस्ता नाशिने वस्तुहरूलाई प्राथमिकताका साथ निरीक्षण र क्लियरिङ गरिँदैछ,” प्रवक्ता गौतमले भने ।
उनका अनुसार नाका सञ्चालनको दुई दिनभित्र मात्रै ९ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
रसुवागढी नाका गत असारमा आएको बाढीले मितेरी पुल बगाएपछि बन्द भएको थियो । त्यसपछि व्यापार पूर्णरूपमा रोकिएको थियो । चीनले अस्थायी बेली पुल निर्माण गरेपछि गत बिहीबारदेखि नाका पुनः सञ्चालनमा आएको हो ।
व्यापार पुनः सुरु भएपछि आयातकर्ताले राहत महसुस गरेको बताएका छन् । रसुवागढी हुँदै चीनसँगको व्यापार विस्तारसँगै इलेक्ट्रिक सवारी आयात, दैनिक उपभोग्य वस्तु आपूर्ति र राजस्व संकलन तीनै क्षेत्रमा सकारात्मक संकेत देखिएको छ ।