काठमाडौँ, पुस १५ | नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत करिब २८ दशमलव ५७ प्रतिशत सेयर जारी गर्ने तयारी गरेको छ। बाँकी ७१ दशमलव ४३ प्रतिशत सेयर प्रवर्द्धक समूहको स्वामित्वमा रहने जनाइएको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ।
काठमाडौँमा अवस्थित उक्त अस्पताल हाल १ सय शय्याको क्षमतामा सञ्चालनमा रहेको छ, जहाँ अन्तर्राष्ट्रियस्तरका स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ। फाउन्डेसनले आगामी दिनमा २ सय थप शय्या विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत सामान्य उपचारका साथै क्यान्सरसम्बन्धी सेवा पनि सञ्चालनमा ल्याइने जनाइएको छ।
स्वास्थ्य सेवासँगै फाउन्डेसनले नर्सिङ र फार्मेसी विषयमा स्नातक तहका शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। विसं २००५ मा स्थापना भएको यस फाउन्डेसनमा हाल २ सयभन्दा बढी कर्मचारी कार्यरत छन् भने वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा बढी रहेको छ।
आईपीओमार्फत संकलित पुँजी अस्पताल विस्तार, स्वास्थ्य सेवा गुणस्तर अभिवृद्धि तथा शैक्षिक कार्यक्रम सुदृढीकरणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ।