काठमाडौँ, पुस १३ – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडसँग एकीकृत संस्थाका रूपमा अघि बढ्ने उद्देश्यसहित प्राप्ति (अधिग्रहण) सम्झौतामा औपचारिक रूपमा प्रवेश गरेको छ।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार दुवै संस्थाबीच २०८२ साल पुस ९ गते साँझ ५ बजे प्रारम्भिक समझदारीपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरिएको हो। उक्त समझदारीपत्रले दुवै लघुवित्त संस्थाबीच प्राप्ति प्रक्रियालाई अघि बढाउने विषयमा आपसी सहमति भएको जनाउँछ।
विन नेपाल लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१३, साँगामा रहेको छ भने स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय बनेपा नगरपालिका–०५, काभ्रेपलाञ्चोकमा सञ्चालनमा छ।
समझदारीपत्रमा हस्ताक्षर भएको सोही दिन बसेको विन नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्पन्न नभएसम्म प्रवर्द्धक (संस्थापक) सेयरधनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ। उक्त निर्णय सूचीबद्ध संस्थाहरूको एकीकरण तथा प्राप्तिसम्बन्धी व्यवस्था निर्देशिका, २०७९ को दफा ३ (१) अनुसार गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले प्राप्ति प्रक्रियाका क्रममा प्रवर्द्धक सेयरधनीको सेयर कारोबार रोक्का कार्यान्वयन गर्न सम्बन्धित नियामक निकाय तथा सेयर अभिलेख गर्ने निकायसमक्ष औपचारिक अनुरोधसमेत गरिसकेको जनाएको छ।