काठमाडौँ, पुस १३ – सुपर खुदी जलविद्युत कम्पनी लिमिटेडले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी प्रस्तावपत्र सार्वजनिक गरेको छ।
लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर आवेदन अवधि २०८२ साल पुस २२ गतेदेखि माघ ६ गतेसम्म तोकिएको छ। उक्त अवधिभित्र सेयर पूर्ण रूपमा बिक्री नभएमा माघ २१ गतेसम्म आवेदन अवधि थप हुन सक्ने व्यवस्था गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर आवेदन पुस २२ गतेदेखि पुस २५ गतेसम्म खुला रहनेछ। सो अवधिमा पनि सेयर पूर्ण रूपमा बिक्री नभएमा माघ ६ गतेसम्म आवेदन अवधि थप हुन सक्नेछ।
कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यसमध्ये २० प्रतिशत अर्थात् ३१ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। कुल जारी पुँजीको १० प्रतिशत बराबरको १५ लाख ५० हजार कित्ता सेयर (१५ करोड ५० लाख रुपैयाँ बराबर) लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको छ। बाँकी १० प्रतिशत अर्थात् १५ लाख ५० हजार कित्ता सेयर भने पछि सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइने सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ, जसको निष्कासन माथि उल्लेखित मितिदेखि सुरु हुनेछ।
आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिइएको छ।
यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेडले सुपर खुदी जलविद्युत कम्पनी लिमिटेडलाई प्रदान गरिएको जारीकर्ता मूल्याङ्कन ‘केयर–एनपी बीबी (आइएस)’ लाई पुनः पुष्टि गरेको छ। यस स्तरको मूल्याङ्कनले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। कम्पनीको दीर्घकालीन बैंक कर्जासम्बन्धी मूल्याङ्कन ‘केयर–एनपी बीबी’ लाई पनि पुनः पुष्टि गरिएको छ। साथै, कम्पनीको अल्पकालीन बैंक कर्जालाई ‘केयर–एनपी ए४’ स्तरको मूल्याङ्कन प्रदान गरिएको छ।
सुपर खुदी जलविद्युत कम्पनी लिमिटेड २०६५ साल पुस २ गते सार्वजनिक सीमित कम्पनीका रूपमा स्थापना भएको हो। कम्पनीले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा अवस्थित २६ मेगावाट क्षमताको (पहिले २१ दशमलब २१ मेगावाट) माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण मोडेलअन्तर्गत कार्यान्वयन भइरहेको छ।