पात्रो

रेडियो

समाचार खोजी

रिज लाइन इनर्जी लिमिटेडको आईपीओ आजदेखि गोरखा–लमजुङका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

साझा अर्थ संवाददाता १३ पुष २०८२, आइतवार

रिज लाइन इनर्जी लिमिटेडले गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आजदेखि खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि ११ लाख ८५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ४२ हजार २०० कित्ता सेयर निष्कासन गरेको हो।

गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीका लागि सेयर आवेदन अवधि आज अर्थात् २०८२ साल पुस १३ गतेदेखि पुस २८ गतेसम्म तोकिएको छ। तोकिएको अवधिभित्र सेयर पूर्ण रूपमा बिक्री नभएमा माघ १२ गतेसम्म आवेदन अवधि थप हुन सक्ने व्यवस्था गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सेयर आवेदन पुस १३ गतेदेखि पुस १७ गतेसम्म खुला रहनेछ। उक्त अवधिमा पनि सेयर पूर्ण रूपमा बिक्री नभएमा पुस २८ गतेसम्म आवेदन अवधि थप हुन सक्नेछ।

कम्पनीको जारी पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ। यसमध्ये २२ प्रतिशत अर्थात् २६ लाख ७ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ। कुल जारी पुँजीको १० प्रतिशत बराबरको ११ लाख ८५ हजार कित्ता सेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) गोरखा र लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयवासीका लागि छुट्याइएको छ। बाँकी १० प्रतिशत अर्थात् १४ लाख २२ हजार कित्ता सेयर भने पछि सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएका सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४२ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ, जसको निष्कासन आजदेखि सुरु भएको हो।

यसैगरी, सर्वसाधारण समूहअन्तर्गत २ प्रतिशत अर्थात् २८ हजार ४४० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र कुल प्रस्तावित सेयरको ५ प्रतिशत अर्थात् ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ८२ हजार २६० कित्ता सेयर भने पछि सर्वसाधारणका लागि खुला गरिनेछ।

आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडलाई दिइएको छ।

यसैबीच, केयर रेटिङ्स नेपाल लिमिटेडले रिज लाइन इनर्जी लिमिटेडको जारीकर्ता मूल्याङ्कन अघिल्लो स्तरबाट सुधार गर्दै मध्यम स्तरको जोखिम सूचक स्तरमा स्तरोन्नति गरेको छ। कम्पनीको दीर्घकालीन बैंक कर्जासम्बन्धी मूल्याङ्कन पनि सुधार गरिएको जनाएको छ।

रिज लाइन इनर्जी लिमिटेड २०७४ साल पुस १३ गते सार्वजनिक सीमित कम्पनीका रूपमा स्थापना भएको हो। व्यक्तिगत प्रवर्द्धकहरूको लगानीमा स्थापित यस कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ९ दशमलब ०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण मोडेलअन्तर्गत कार्यान्वयन भइरहेको छ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ