काठमाडौं । मार्जिन कर्जामा फैलिएको अव्यवस्था, जोखिम र अनियन्त्रित सटहीपनलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा निर्देशन, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ ।
बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थाको (प्रारम्भिक मस्यौदा) तयार गर्दै मार्जिन कारोबार सम्बन्धी व्यवस्था अघि बढाएको हो । धितोपत्र दलाल व्यवसायी मार्फत् लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२’ को मस्यौदा तयार गरेको हो ।
बोर्डले प्रारम्भिक मस्यौदामाथि कुनै सुझाव भए सात दिनभित्र बोर्डको इमेल मार्फत् सुझाव पेस गर्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
प्रारम्भिक मस्यौदामा मार्जिन कारोबार योग्य कम्पनीका लागि पाँच वटा व्यवस्था धितोपत्र बोर्डले तय गरेको छ । जसमा कम्पनीको कम्तीमा ५० लाख कित्ता सेयर सूचीकृत भएको हुनुपर्नेछ ।
त्यसैगरी, नेटवर्थ चुक्ता पुँजी बराबर र सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको यससँगै, प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत निष्कासन भएको सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका र बोर्डले तोके बमोजिमको अन्य व्यवस्थाहरू पूरा भएका कम्पनीहरू मार्जिन कारोबारका लागि योग्य हुने सेबोनले जनाएको छ ।
मस्यौदामार्फत मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यता पनि तोकिएको छ । जसमा मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहाने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीले उक्त योग्यता पूरा गरेको हुनुपर्ने बोर्डले जनाएको छ । धितोपत्र दलाल व्यवसायीले चुक्ता पुँजी कम्तिमा २० करोड रुपियाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको, र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरु पुरा गरेको हुनुपर्ने मस्यौदामा उल्लेख छ ।
यस्तै प्रारम्भिक मार्जिन र सम्भार मार्जिन सम्बन्धी पनि मार्जिन कारोबार सुविधा निर्देशनको मस्यौदामा व्यवस्था गरिएको छ । धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको सेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको न्यूनतम अनुसूची–१ बमोजिमको प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्ने मस्यौदामा छ । यस्तै मार्जिन कारोबार सुविधा अन्तरगत खरिद गरिएको सेयरको विवरण तथा मार्जिन रकमको विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नुपर्ने, प्रारम्भिक मार्जिनको रुपमा लिइएको सेयर र मार्जिन सुविधा अन्तरगत खरिद भएको सेयरको मूल्याङ्कन दैनिक रुपमा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ ।
तर उक्त सेयरको मूल्यमा भएको बृद्धिको आधारमा थप सुविधा दिन नपाइने व्यवस्था गरिएको बोर्डले जनाएको छ । ग्राहकको जोखिम मूल्याङ्कन, बजारको अवस्था तथा सूचिकृत संगठित संस्थाको सेयरमा निहित जोखिमलाई दृष्टिगत गरी धितोपत्र दलाल व्यवसायीले उपदफा (१) मा उल्लेखित मार्जिनभन्दा बढी मार्जिन माग गर्न सक्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासँग न्यूनतम अनुसूची–२ बमोजिमको प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्ने उक्त मस्यौदामा रहेको छ ।