काठमाडौं । सरकारी ऋण उठाउन ५० करोड रुपियाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरिएको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गरेको हो ।
पाँच वर्ष अवधिको यो बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ । वैदेशिक रोजगार बचतपत्रमा सात दशमलव पाँच प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
बचतपत्रको ब्याज हरेक ६–६ महिनामा सम्बन्धित खरिदकर्ताको बैङ्क खातामा भुक्तानी हुनेछ भने घटीमा १० हजार रुपियाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने कार्यालयले जनाएको छ ।
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना पुगेका नेपाली नागरिक, गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा समेत गरिन गर्न सक्नेछन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत बचतपत्र खरिदका लागि आवेदन दिन सकिनेछ ।
बचतकर्ताका लागि प्रभावकारी रहेपनि वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताको त्यति धेरै चासो देखिने गरेको छैन । लगानीकर्तालाई बचतपत्रबारे पर्याप्त जानकारी नहुँदा र यसबारेमा बुझाउन नसकिँदा विगतका वर्षमा निष्कासन गरिएको रकमभन्दा कम मात्रै खरिद हुने गरेको छ ।
पछिल्लो समय बैङ्हरुले निक्षेपको ब्याजदर निरनतर घटाइरहेको बेलामा बचतका लागि राम्रो अवसर भए पनि बचतकर्ताको रोजाइमा वैदेशिक रोजगार बचतपत्र पर्ने गरेको छैन ।
यस्तो बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैङ्क खातामा सिधै जम्मा हुन्छ । बचतपत्रलाई धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ ।