यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ लाइसेन्स र इ–लाइसेन्ससम्बन्धी सबै सेवाहरू बन्द भएका छन् । १६ कात्तिकदेखि आंशिकरूपमा खुलेको प्रणाली २८ कात्तिकदेखि पुनः अवरुद्ध भएको हो । विभागले अर्को सूचना जारी नभएसम्म सबै आवेदन बन्द रहने जनाएको छ ।
काठमाडौँ, कात्तिक २८ गते । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि इ–ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्स प्राप्तिका लागि आवेदन दिने प्रक्रिया आजदेखि बन्द भएको छ । विभागले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म सम्बन्धित सबै सेवा रोकिएको जनाएको छ ।
२३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको पूर्वाधारमा ठूलो क्षति पुगेपछि ड्राइभिङ लाइसेन्ससँग सम्बन्धित सबै प्रणाली अवरुद्ध भएका थिए । त्यसपछि विभागले १६ कात्तिकदेखि केही सेवाहरू आंशिक रूपमा सञ्चालनमा ल्याएको थियो । तर, डेटा सेन्टरमा निरन्तर देखिएको समस्याका कारण सेवा पुनः ठप्प भएको विभागले जनाएको छ ।
विभागका अनुसार नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन, इ–लाइसेन्स नवीकरण, श्रेणी थप तथा अन्य लाइसेन्स–सम्बन्धी सबै कार्य तत्काल प्रभावबाट रोकिएको छ । सेवा कहिले सुचारु हुने हो भन्नेबारे विभागले अझै स्पष्ट जानकारी दिएको छैन ।