काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरुले अनलाईन दराज पोर्टल मार्फत सामान खरीद गर्दा छुट पाउने भएका छन् । बैंक र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
मङ्गलबार देखि आगामी मङ्सिर ६ गतेसम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड÷डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गर्नुभयो ।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागि आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको जनाएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय रुपियाँसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा दुई हजार रुपियाँसम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।