पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदानबारे अबुधाबीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साझा अर्थ संवाददाता २४ कार्तिक २०८२, सोमवार

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली राजदूतावास, अबुधाबीद्वारा “राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका” विषयक एक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

नेपालमा २०८२ भाद्र २३ र २४ गते भएका आन्दोलनबाट क्षति भएका सरकारी तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना कार्यका लागि युएईमा रहेका नेपाली समुदायको योगदानबारे विचार–विमर्श गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपालका महामहिम राजदूत श्री तेजबहादुर क्षेत्रीले सम्बोधन गर्दै नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत राष्ट्र पुनर्निर्माणमा गैरआवासीय नेपालीहरूको सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

राजदूत क्षेत्रीले नेपाल सरकारले विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव र ज्ञानलाई नेपालको विकास प्रक्रियामा समावेश गर्न परराष्ट्र मन्त्रालयअन्तर्गत प्रतिभा प्राप्ति केन्द्र स्थापना गरेको जानकारी गराउँदै दूतावासले सबै क्षेत्रका पेशेवरहरूको विवरण संकलन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले दूतावासको QR Code प्रणालीमार्फत व्यक्तिगत विवरण उपलब्ध गराउन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी युएईस्थित नेपाली समुदायका प्रतिनिधिहरूले नेपाल सरकारले राष्ट्र पुनर्निर्माणका लागि गरेको आह्वानको स्वागत गर्दै सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले पुनर्निर्माण कोष पारदर्शी रूपमा सञ्चालन भएमा युएईमा रहेका नेपाली संघ–संस्थाहरूले कुनै एउटा संरचना सामूहिक रूपमा निर्माण गर्न सक्ने सम्भावनाबारे पनि छलफल भइरहेको जानकारी दिए।

त्यस्तै, सहभागीहरूले दूतावासको सेवा प्रवाहप्रति सन्तुष्टि जनाउँदै युएईको कानुन पालनाबारे सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। साथै, राहदानी बन्न ढिलाइ हुने समस्यालाई समाधान गर्न दूतावासले गम्भीर ध्यान दिनुपर्ने माग पनि राखिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल एशोसिएसन–युएई, आदिवासी जनजाति महासंघ–युएई लगायत विभिन्न संगठन, समाजका प्रतिनिधिहरू, व्यवसायी, इन्जिनियर, डाक्टर, सञ्चारकर्मी, पर्यटन व्यवसायी र समाजसेवी गरी करिब ६० जना सहभागी भएका थिए।

कार्यक्रमको सञ्चालन दूतावासका श्रम काउन्सिलर श्री दिपेन्द्र पौडेलले गर्नुभएको थियो। उहाँले दूतावासले सेवा प्रवाह र समुदायसम्बन्धी कार्यमा गरेका विविध गतिविधिहरूको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ