धितोपत्र बोर्डले नियामकको रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमका साथै भविष्यमा पूँजीबजारको विकासका लागि सबै सरोकारवालाहरूको सकारात्मक सहयोग अपरिहार्य
काठमाडौं । सेयर बजारलाई गतिशील, पारदर्शी र जवाफदेही बनाउन नेपाल धितोपत्र बोर्डले नियामक निकायको रूपमा आफ्नो भूमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारी र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच शुक्रबार पूँजी बजारका समसामयिक विषयमा भएको छलफलमा उनीहरुले यस्तो बताएका हुन ।
संघका अध्यक्ष डा. केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारमा देखिएका वर्तमान चुनौतीहरू र तिनको समाधानका लागि धितोपत्र बोर्डले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा स्पष्ट रूपमा राखेको थियो । संघले यसअघि धितोपत्र बोर्डमा पेश गरेका मुद्दाहरूलाई पुनः स्मरण गराउँदै औपचारिक पत्र समेत हस्तान्तरण गरेको छ ।
छलफलका क्रममा संघका महासचिव रबिन कँडेलले विगतमा बोर्डसँग भएको भेटमा उठाइएका विषयहरूको कार्यान्वयन अवस्था र रणनीतिक प्रश्नहरू आम लगानीकर्ताको तहसम्म पु-याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विशेषगरी, सिडिएससीद्वारा आइएसआइएन नम्बरमा चालिएका कदमहरू र यस सन्दर्भमा धितोपत्र बोर्डको आवश्यक भूमिकाबारे पनि विस्तृत छलफल भएको थियो ।
जवाफमा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले धितोपत्र बोर्डले नियामकको रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमका साथै भविष्यमा पूँजीबजारको विकासका लागि सबै सरोकारवालाहरूको सकारात्मक सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
लगानीकर्ता संघले ‘वाच डग’ को भूमिका खेल्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै उहाँले दबाब वा प्रभावमा भन्दा पनि न्यायका सिद्धान्त र कानूनी परिधिभित्र रहेर मात्र काम गर्न सकिने स्पष्ट पार्नुभयो ।
अध्यक्ष श्रेष्ठले संघले पेश गरेका दस्तावेज र छलफल गरिएका विषयहरूको गम्भीरतापूर्वक अध्ययन गरी आवश्यकता अनुसार पुनः छलफलमा बस्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
छलफलमा लगानीकर्ता संघका तर्फबाट अध्यक्ष डा. केशव श्रेष्ठ, उपाध्यक्ष इन्जिनियर भगवानबहादुर रावत, महासचिव रबिन कँडेल, सचिव भुवन ढकाल, सदस्यहरू श्यामहरि सेढाईं, मिना भट्ट र विवेक श्रेष्ठको उपस्थिति रहेको थियो ।