काठमाडौँ । कर्मचारी सञ्चय कोषबाट सञ्चालित योगदानमा आधारित निवृत्तभरण कोषमा करिब चार हजार २९० कार्यालय तथा संस्थाहरू आवद्ध भएका छन् ।
योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्ध हुने सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरूको सङ्ख्या उल्लेख्य रूपले बढ्दै गएको कोषले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्ममा सरकारी कार्यालय, सार्वजनिक संस्थान, बोर्ड, समिति र सङ्गठित संस्थाहरू गरी करिव ४ हजार २९० कार्यालय तथा संस्थाहरू योगदानमा आधारित निवृत्तभरण आवद्ध भएको कोषले जनाएको छ ।
कोषमा आवद्ध भएका कार्यालय तथा संस्थाहरूका करिब ९९ हजार ३९१ जना योगदानकर्ताहरूबाट गत आर्थिक वर्षको अन्त्यसम्मका करिब १५ अर्ब रुपियाँ योगदानमा आधारित निवृत्तभरण कोषमा जम्मा भएको कोषले जनाएको छ ।
योगदानमा आधारित निवृत्तभरण कोषमा थप सरकारी कार्यालय र प्रतिष्ठानहरू आवद्ध हुनेक्रम जारी रहेको पनि कोषले जनाएको छ । साथै, बैङ्क तथा वित्तीय क्षेत्र तथा निजी क्षेत्रबाट पनि योगदानमा आधारित निवृत्तभरण कोषमा आवद्धताका लागि कोषमा सम्पर्क गर्नेक्रम उल्लेख्य रूपले बढ्दै गएको बताइएको छ ।
कोषले आफ्नै स्रोतबाट योगदानकर्ताहरूलाई विभिन्न किसिमका सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार, सामाजिक सुरक्षा सुविधा अन्तरगत योगदानकर्ताहरूलाई दुर्घटना क्षतिपूर्ति दुई लाखसम्म, काजकिरिया अनुदान ४० हजार रुपियाँ, प्रसूति सुविधा अन्तरगत प्रतिप्रसूति सात हजार पाँच सय तथा स्वाथ्योपचारतर्फ साधारण रोगमा एक लाखसम्म र कडा रोगमा १० लाखसम्म सुविधा प्रदान गर्दै आएको कोषले जनाएको छ ।
साझा अर्थ संवाददाता