पात्रो

रेडियो

समाचार खोजी

परिवर्तनको खोजीमा: नेपाली कांग्रेसभित्रको जनतासँगको दूरी र नेतृत्वको परीक्षा

साझा अर्थ संवाददाता २० असार २०८२, शुक्रवार

अजयबाबु शिवाकोटी
आज म यो बैठकमा केही सवालहरुका साथ उपस्थित भएको छु । म यो बैठकमा आम नागरिकले हामीलाई कसरी बुझ्न थालेका छन् ? उनीहरुको भावनासँग हामी कसरी एकाकार भएर जाने भन्ने विषयमा घनिभूत छलफलको अपेक्षाका साथ उपस्थित भएको थिए । पार्टीले सञ्चालन गरेको सय दिने अभियानको प्रतिवेदन माथि लामै विमर्श हुने र त्यसका आधारमा नयाँ कार्यक्रम तय हुने अपेक्षा गरेको थिए ।
अबको चुनावमा सबैभन्दा प्रभावशाली उपस्थिति जनाउने जेन्जी पुस्तासँग कसरी सहकार्य गर्दै उनीहरुलाई पार्टीमा आकर्षित गर्ने भन्ने बारेमा योजना बनाइने अपेक्षा गरेको थिए । पार्टीले सोसल मिडियामा सामना गर्नुपरिरहेको चुनौतिको चर्चा गर्दै त्यसबाट पार लाग्ने उपायको बारेमा मन्थन हुने अपेक्षा गरिरहेको थिए । हाम्रै पार्टीका परम्परागत मतदाता के सोचिरहेका छन् र कसरी उनीहरु अभिव्यक्त गरिरहेका छन् भन्नेमा छलफल हुने अपेक्षा गरेर बसेको थिए ।
श्रमिक गए, विद्यार्थी गए, देशबाट उद्यमी व्यवसायीहरु यहाँ उपस्थिति मात्रै जनाएर बाहिर गइरहेका बारेमा तथ्याङ्कसहित चिन्तन हुने अपेक्षा राखेको थिए । नयाँ पुस्ता जोडिन हिच्किचाइरहेको र पुरानो पुस्ता बिच्किरहेका कारण हामीले खोज्छौं होला भन्ने पनि अपेक्षा थियो ।
पार्टी केन्द्रीय समितिको बैठकमा यस्ता विषयमा कतिको चर्चा भयो होला भन्ने सोच्दै आज बिहान बालाजु पार्कमा हिँडिरहेको थिए । पार्कमा नियमित भेट हुने सभापतिज्यूकै उमेर हाराहारीका एकजना दाजुले भन्दै हुनुहुन्थ्यो ः “कांग्रेसले अब हामीलाई मत हाल्न जानु नपर्ने गरी सजिलो बनाइरहेको छ ।”
सभापतिज्यू ती दाजुका कुराले म गम्भीर भए,
त्यो केबल तीतो टिप्पणी थिएन । यो हाम्रो परम्परागत मतदाता वर्गको चेतावनी थियो । यस्ता चेतावनीको भाषा तपाईहरुले कति सुनिरहुनुभएको छ ?
अवसर र जिम्मेवारी पाउँदा आम नागरिकको भरोसा जित्नुपर्ने ठाउँमा वेलगाम भएर मैमत्ता हात्ती जस्तो भएर हिँडेपछि आम मानिस हाम्रो आरती गरेर बस्दैनन् । संघ र प्रदेशको बजेटपछि देशभर आफ्नै पार्टीका नेता कार्यकर्ताहरुको प्रतिक्रिया र टिप्पणी त नेतृत्वगणले देख्नु सुन्नुभएकै होला ।
कांग्रेसको नेता कतै आरोपित हुँदा, अख्तियार र अदालतमा बयान दिन पुग्दा, भ्रष्टाचारमा डामिँदा तपाई हामीहरु भन्दा गाउँघरमा कांग्रेसको नाममा दियो बालेर कांग्रेसलाई बचाइरहेका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का हामीले राखेका छौं ? तपाई हामी जस्ता नेता कार्यकर्ताले लिएको निर्णय वा व्यवहार गलत हुँदा तपाई हामी भन्दा बढी रक्षात्मक कांग्रेसका तिनै मतदाता र कार्यकर्ता भइरहेका छन् । धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएपछि अहिले आफ्नै समर्थक हामीलाई गाली गर्न थालेका छन् । के यसको जानकारी हामीहरुले राखेका छौं ?
आम नागरिक र कार्यकर्ताहरू कांग्रेसको बारेमा अरु कसरी सोचिरहेका छन् ? सय दिने अभियान पछि केन्द्रिय कार्यालयमा प्राप्त जिल्लागत रिपोर्टहरूमा पनि यो कुरा आएकै होला । तनहँुको रिपोर्ट मैले पनि बुझाएको छु ।
मेरै जिल्ला दोलखामा केन्द्रिय प्रतिनिधि भएर जानुभएका नेताज्यूले पनि दोलखा कांग्रेसको बारेमा त्यस्तै रिपोर्ट बुझाउने अपेक्षा गरेको थिए । तर विडम्बना आमसभामा आफ्नो महिमागान गाउने, विपक्षीलाई थर्काउने टेक्निक बाहेक दोलखा काँग्रेसले केहि पाउन सकेन । बरु हामीले एकजना हाम्रा नागरिक ज्ञान बहादुर तामाङ उहाँका कारण गुमायौं । भिमेश्वर नगरपालिका ६ का तामाङलाई उहाँको टीमले वेप्रवाह चलाएको गाडीले ठक्कर दिएर यमलोक पु¥यायो । पैसा र शक्तिको भरमा दबाब दिएर घटना सामसुम बनाइए पनि तामाङ परिवार अहिले पनि शोकबाट निस्कन सकेको छैन ।
सभापतिज्यू
गत वर्ष २०८१ मङ्सिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाटन ग¥यो । दोलखाको सय दिने अभियानमा सहभागी हुन जाने क्रममा सिन्धुपाल्चोक कांग्रेसले गरेको निम्तो मान्न म पनि चौतारा पुगेको थिए । तर सो दिन सोहि जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिँदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरुलाई उर्दी जारी गरिरहनुभएको थियो । महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रुपमा सहभागी भए ।
सभापतिज्यू, कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ? त्यस्ता सोच भएका व्यक्तिले तल नेता कार्यकर्तामा कस्तो संस्कार दिइरहेका होलान् सभापतिज्यू आफै विचार गर्नुहोला । दुःखका साथ भन्नुपर्छ दोलखामा पठाइएका केन्द्रिय प्रतिनिधिबाट दम्भको प्रदर्शनबाहेक केही सिक्न नपाएको दोलखाली कांग्रेसजनको गुनासो छ ।
केही दिन अघि पार्टीको पुस्तकालयमा संसदीय लोकतन्त्रको जननी बेलायतका एक नेपाली मूलका नेतालाई बोलाएर हाम्रो भगिनी सम्बन्ध रहेको लेबर पार्टीका अभ्यासहरुको बारेमा अन्तरक्रिया गरेका थियौं । पार्टीका नेताहरु कुनै विषयमा आरोपित भएको अवस्थामा कसरी उनीहरुले प्रक्रिया पार गरेर पार्टीबाट अलग हुन्छन र पार्टीलाई रक्षात्मक बन्न दिदैनन भनेर सुन्न पाएका थियौं । दोषी नपाइए पार्टीमा पुनरागमन भए पनि सो समयसम्म पार्टीबाट अलग रहने नैतिकता बेलायती अभ्यासमा रहेको लेवर नेता डा. बच्चुकैलाश कैनीले बताउनुभएको थियो । तर यहाँ भ्रष्टाचार मुद्दाको आरोपित संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साँटो उल्टै केन्द्रिय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध विषवमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हांै ?
सभापतिज्यू
हर विषयको सीमा हुन्छ । भगवान श्रीकृष्णले पनि १०० गालीसम्म सहनु भएको थियो । त्यसपछि सिसुपालको के भएको थियो महाभारतको प्रसङ्गमा चाख राख्ने सबैलाई जानकारी नै होला । कलियुगमा त्यो पनि कांग्रेसमा जे गर्दा पनि हुन्छ जे बोल्दा पनि हुन्छ भन्ने हो भने अलग कुरा नत्र पार्टीभित्र मर्यादा, अनुशासन, पदीय गरिमा भन्ने कुरा हुन्छ की हुँदैन सभापतिज्यू ?
बुधवारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झै थियो । महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहिन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो । अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियांै ।
सभापतिज्यू,
भोलि फेरि कोहि उठेर सभापतिज्यू विरुद्ध बुधवारको बैठकमा जस्तै विषवमन गरे के हुन्छ ? यसैगरी पार्टी अर्डरमा रहन्छ ? मियो विनाको दाई जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?
सभापतिज्यू,
तपाईकै सामुन्ने बुधबार केन्द्रिय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्ल युद्धको मैदान बनाउन खोजिरहेका हौं ? होइन भने “ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गा¥हो पर्ला, होस गर्नु ’’ भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दा समेत त्यस्ता अराजक प्रस्तुति दिनेलाई रोक्न सकिँदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौं ?
सभापतिज्यू,
वीपी कोइराला सहित अग्रजहरुले शुरु गरेको पार्टीको संस्कार यहि हो ?
सभापतिज्यूलाई सोध्न चाहन्छु यो अराजकता कहिलेसम्म ? मर्यादाहिन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौं । त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस ।
सभापतिज्यू
केहि समयअघि सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसदको रोष्ट्रममा उभिएर आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको बताएका थिए । बुधबारको बैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाई फाइल छ फाइल छ भनेर किन घुर्क्याइ रहनुभएको छ । थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ । थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्बन्धित निकायमा नदिएको ? तपाई आफू डामिसक्नुभएको छ । महामन्त्रीलाई पनि कारबाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस । हेर्नुस हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ । भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन । थापाजी दोषी देखिए भोग्नुहोला । होइन भने धम्क्याउने राजनीति बन्द गर्नुस । जहाँसम्म मेरो जानकारी छ तपाईसँग गभर्नर पद कांग्रेसले साटेको पनि छैन । अहिले जे भइरहेको छ तपाईकै कर्मले हो । रुन्चे याचना गर्दै अरुलाई दोष नदिनुस । पार्टीमा तपाईले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई बदनाम बनाउने छुट तपाईलाई छैन । हामीलाई पनि छैन । पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुंगो नलागेसम्म पार्टीको पदबाट अलग रहदा त्यो पार्टीको लागि ठूलो गुन हुनेछ ।
पार्टी सुशासनका सन्दर्भमा
सुशासन, सेवा प्रवाहको कुरा हामीले धेरै सुन्दै आएका छौं । तर यो कुरा पार्टीमा पनि लागू हुनुपर्ने होलानी ? विधानत तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा सम्बन्धित तहका नेतृत्वलाई जवाफदेहि पनि बनाउनुपर्ने होलानी । सक्रिय सदस्यताको विषयमा ३३ वटा परिपत्र पठाउँदा पनि मातहतका तहले समयमा काम गर्दैनन भने त्यसको जवाफदेखि को हुने ? पार्टी महाधिवेशनको तयारीमा जुट्नुपर्ने बेला अझै सक्रिय सदस्यताको विषय टुंगिन सकेको छैन । सक्रिय सदस्यता नविकरणको टुंगो लगाउने विषय अनुशासन समितिमा परेका उजुरीसँग पनि जोडिएको छ । अनि अनुशासन समितिमा परेका उजुरी टुंगिने कहिले हो ? अनि नयाँ सदस्यता वितरण कहिलेबाट ?
निजामती सेवामा दुई वर्षे कुलिङ अफ पिरियड अहिले चर्चामा छ । पार्टी महाधिवेशन र स्थानीय तहको चुनावबीच कम्तिमा डेढदेखि दुई वर्षको कुलिङ पिरियड राखेमात्र स्थानीय तहको चुनावमा हामीले राम्रो नतिजा ल्याउन सक्छांै त्यसको सकारात्मक प्रभाव संसदीय चुनावमा पनि पर्छ भनेर दुई वर्षअघिकै बैठकमा धारणा राखेको थिए । त्यसमा पार्टी नेतृत्वको ध्यान पुगेन । महासमिति बैठक अघि महामन्त्रीले कार्यतालिका पेश गरेर महाधिवेशन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो । तर कसको दबाबमा हो कि के हो ? विडम्बना त्यो कार्यतालिका नै पछि गायब भयो । डेढ बर्ष अघि २०८२ मङ्सिरमा महाधिवेशन सुनिश्चित गर्न ल्याइएको त्यो कार्यतालिकाको समर्थन गर्न नसकेका हामीहरुले अब सोहि मितिमा महाधिवेशन गर्न कार्यतालिका ल्याउनु भन्नु सार्वजनिक खपत भन्दा अरु होइन भनेर कसरी विश्वासमा पर्नु ?
आदरणीय सभापतिज्यूले आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको छ । तर जिम्मेवारी पाएर पनि पुरा गर्न नसकेका भातृ संस्थाको नेतृत्वलाई कहिले रिटायरमेन्टमा पठाउने ? नेविसंघ, तरुण दल, महिला संघ, दलित संघको बेथिति कहिलेसम्म टुलुटुलु हेरिरहने ?
सभापतिज्यूले रिटायरमेन्ट लिदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लैजाने सबैभन्दा ठूलो चुनौति छ । तपाईँको उमेर समूहदेखि जेन्जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौति छ । यो चुनौती पार्टीभित्र मर्यादा, अनुशासन र एकताबीना सम्भव छैन ।
यसैले पनि दृष्टिकोणमा आत्मपरीक्षण गर्दै काममा निरन्तरता र इमानदारीता कायम हुनुपर्छ । अतः यस बैठकले सरकार तथा पार्टीको समग्र गतिविधीको सिंहावलोकनका साथ मूल्याङ्कन गर्दै मतदातासँग पुनः भरोसायुक्त सम्बन्ध बनाउने, जेन्जी पुस्तालाई आत्मसात गर्दै उनीहरुसँग सहकार्य गर्ने र विश्वासको पुनर्निर्माण गर्ने दिशामा ठोस योजना ल्याओस् भन्ने मेरो आग्रह छ ।
धन्यवाद । जय नेपाल ।
सभापतिज्यू पदाधिकारीज्यूहरु, पूर्व पदाधिकारीज्यूहरु, केन्द्रीय समितिका अग्रज तथा साथी केन्द्रीय सदस्यज्यूहरु, प्रदेश सभापतिज्यूहरु
जय नेपाल।

(नेपाली कांग्रेस केन्द्रिय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राख्नुभएको धारणा)

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु