काठमाडाै: दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर बिक्री गर्ने अनुमति पाएको थियो।
जसमध्ये कम्पनीले १०० अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई जारी गर्न लागेको हो।
यता, कम्पनीले सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता शेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने छन्। यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले यस कम्पनीको आईपीओमा असार २३ गतेसम्म आवेदन दिन पाउनेछन्। यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।
यसमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावरहाउसबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुक तिर्नुपर्नेछ।
यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ।
283
Shares