पात्रो

रेडियो

समाचार खोजी

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार


राँझा (बाँके), ९ वैशाखः खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ ।    
    
 तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्‍याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो ।    
    
 “धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको थियो । पछिल्लो दुईवर्षमा तीव्र कटान हुन थालेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ ।”    
    
 यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिनुभयो । दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालय सँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।    
    
 कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उहाँको गुनासो छ । उहाँका अनुसार यहाँ गरिँदै आइएको जौ घाँस र डाले घाँसको रुख बर्खामा आउने बाढीले कटान गरेर लैजाने गरेको छ ।    
    
 कटान रोक्न तटबन्धको व्यवस्था नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो धनजनको क्षति पुर्‍याउने कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिमतर्फ रहेको खजुरा–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा कार्यालय अवस्थित छ । दुई हेक्टरमा वन जङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँस खेती गरिएको उहाँले जानकारी दिनुभयो ।    
    
 यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी कूल चौबिस जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ ।    (रासस)    

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ