चालू आवको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण बढेर चैत मसान्तमा २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । सरकारले साउनमा ४३ अर्ब ५९ करोड, भदौमा ६० अर्ब ६७ करोड, असोजमा ३१ अर्ब चार करोड, कात्तिकमा ३५ अर्ब ५३ करोड, मंसिरमा ३० अर्ब ७४ करोड, पुसमा ३७ अर्ब ३२ करोड, माघमा ५० अर्ब ६ करोड, फागुनमा ४७ अर्ब ५१ करोड र चैतमा २८ अर्ब १७ करोड रुपैयाँ ऋण लिएको अर्थ मन्त्रालयमातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारले हालसम्म लिएको ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४६.७५ प्रतिशत हो । कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब एक अर्ब र बाह्य ऋण १३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत फागुनको तुलनामा चैतमा भने ऋण दायित्व घटेको छ । फागुनसम्म २६ खर्ब ७६ अर्ब रुपैयाँ सार्वजनिक ऋणको आकार थियो । तर, त्यसयता विगतको साँवा र ब्याजको किस्ता भुक्तानी गरेका कारण चैतसम्म आउँदा केही घटेको कार्यालयले जनाएको छ ।
साझा अर्थ संवाददाता