पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैङ्कहरुको खुद नाफा एक अर्ब १९ करोड रुपियाँले बढ्यो

साझा अर्थ संवाददाता ३१ चैत २०८१, आइतवार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वाणिज्य बैङ्कहरुको खुद नाफा २.८१ प्रतिशत अर्थात अर्थात एक अर्ब १८ करोड ९५ लाख रुपियाँले बढेको छ ।
समिक्षा अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले ४३ अर्ब ४९ करोड ६४ लाख रुपियाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्षको फागुनसम्ममा बैङ्कहरूले ४२ अर्ब ३० करोड ६९ लाख रुपियाँ खुद नाफा गरेका थिए ।
नेपाल राष्ट्र बैङ्कका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ११ वटा बैङ्कको नाफा बढेको छ भने नौ वटा बैङ्कको नाफा घटेको छ ।
नाफा बृद्धि गर्नेमा नेपाल बैङ्क अग्रस्थानमा छ । नेपाल बैङ्कले १३२.८९ प्रतिशतले नाफामा बृद्धि गरेको छ । नेपाल बैङ्कले दुई अर्ब ९८ करोड ७९ लाख रुपियाँ आर्जन गरेको छ । गत वर्षको फागुनमा सो बैङ्कको नाफा एक अर्ब २८ करोड २९ लाख रुपियाँ मात्रै थियो ।
समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैङ्कले रहेको छ । नबिललाई पछयाउँदै ग्लोबल आइएमई बैङक दोस्रो स्थानमा रहेको छ ।
नबिल बैङ्कले १.३४ प्रतिशतले बढाएर चार अर्ब ७८ करोड ७६ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यस्तै ग्लोबल आईएमई बैङ्क ३७.७६ प्रतिशतले बढाएर चार अर्ब ७२ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआईएमबी) बैङ्कको नाफा ४५.६८ प्रतिशत बढेर चार अर्ब आठ करोड ५७ लाख रुपियाँ आर्जन गरेको छ । सो बैङ्कको गत वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ८० करोड ४५ लाख रुपियाँ नाफा गरेको थियो ।
यस्तै एनएमबि बैङ्कको ४१.१० प्रतिशत, प्रभु बैङ्कको ३९.६४ प्रतिशत, ग्लोबल आइएमई बैङ्कको ३७.७६ प्रतिशत, एभरेष्ट बैङ्कको ३१.१९ प्रतिशतले बढेको छ ।
राष्ट्र बैङ्कका अनुसार नेपाल एसबिआई बैङ्कको २३.९१ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कको ९.४४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ४.०९ प्रतिशत, नबिल बैङ्कको १.३४ प्रतिशत र सानिमा बैङ्कको १.१० प्रतिशतले बढेको छ ।
यता एनआईसी एशिया बैङ्कको नाफामा सर्वाधिक संकुचन आएको छ । राष्ट्र बैङ्कका अनुसार एनआईसी एशियाको नाफामा ६७.७४ प्रतिशतको संकुचन आएर ८१ करोड ९९ लाख रुपियाँमा रहेको छ । सो बैङ्कले गत वर्षको फागुनमा दुई अर्ब ५४ करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।
कृषि विकास बैङ्कको नाफा ६२.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ४०.०९ प्रतिशत, कुमारी बैङ्कको ३१.९७ प्रतिशत, सिद्धार्थ बैङ्कको २८.२६ प्रतिशत, हिमालयन बैङ्कको १४.२९ प्रतिशत, प्राइम बैङ्कको १३.३२ प्रतिशत,  सिटिजन्स बैङ्कको ५.२९ प्रतिशत र माछापुच्छ्रे बैङ्कको ०.२२ प्रतिशतले संकुचन आएको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता