नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रणलाई प्रवद्र्धन गर्न ‘नबिल दिगो बचत खाता’को सुरुवात गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोणअनुरूप बचत खाता सञ्चालनमा ल्याएको हो । खाताअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदरबाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०.५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनस्र्थापना तथा वृक्षारोपण, नवीकरणीय ऊर्जा प्रवद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूललगायतका कार्यक्रममा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रूपमा औसतमा ५० हजार रुपैयाँ राख्ने ग्राहकका नाममा टोकनस्वरूप एकपटकका लागि वृक्षारोपण गरिनेछ ।
यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस्तो खाता खोल्न न्यूनतम मौज्दात १० हजार रुपैयाँ आवश्यक पर्छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) र गैरनाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ ।
न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एन बैंक र एन बैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ । त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बिमा सुविधा पनि उपलब्ध गराइने बैंकको भनाइ छ । ‘नबिल दिगो बचत खाता’को सुरुवातसँगै ग्राहक आफ्नो भविष्यका लागि मात्र नभई वातावरणमैत्री र दिगो भविष्य निर्माणका लागि पनि बचत गर्न सक्षम हुनेमा बैंकले विश्वास लिएको छ ।
साझा अर्थ संवाददाता