काठमाडौँ । मनोज ज्ञवालीलाई नबिल बैङ्कले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ) को जिम्मेवारी दिएको छ ।
बैङ्क सञ्चालक समितिको बैठकले ज्ञवालीलाई कामु सीइओमा नियुक्त गरेको हो । यसअघि उहाँ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीइओ) को जिम्मेवारीमा रहनुभएको थियो ।
नबिल बैङ्कका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । ढुंगाना नेपाल राष्ट्र बैङ्कको गभर्नर बन्ने दौडमा रहेको चर्चाका बीच नबिल बैङ्कबाट बाहिरिनुभएको हो ।
ज्ञवाली २०७७ साल साउनबाट नबिल बैङ्क प्रवेश गर्नुभएको हो । राष्ट्रिय स्तरको विकास बैङ्क ज्योतिको सीइओबाट राजीनामा दिएर ज्ञवालीले नबिल बैङ्कमा महाप्रबन्धकको कार्यभार सम्हाल्नुभएको थियो ।
ज्ञवालीसँग बैङ्कहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क, ग्लोबल आइएमई बैङ्क, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैङ्कसहितका बैङ्कमा काम गरेको अनुभव छ ।
साझा अर्थ संवाददाता